Prakash Adhikari June 10, 2026

क्वाललम्पुर(मलेसिया), २७ जेठ । एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा नेपाली चेलीहरुले सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् ।

मलेसियाको क्वालालम्पुर स्थित वायुमास ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्डले नेपालसामु १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । थाइल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३० रनको योगफल बनाएको छ।

ओपनर नथाकान छानथाम १ रन जोडेर कविता कुँवरको बलमा आउट हुँदा थाइल्याण्डले १० रन बनाएको थियो। यसपछि फानिता माया र नानपाट खोन्चारोयन्काइले दोस्रो विकेटको लागि ३७ रनको साझेदारी गरे।

६।४ ओभरमा ४७ रनको स्थितिमा थाइल्याण्डले फानिता २६ रनमा रुविना क्षेत्रीको बलमा रिया शर्माद्वारा क्याच आउट भइन्।‌

तेस्रो विकेटको रूपमा कप्तान नारूमोइ चाइवाइ ८ रनमा रन आउट भइन्। यसपछि नानपाट र चानिदा सुथिरूवाङले चौथो विकेटको लागि ४२ रनको साझेदारी गर्दै नेपाली बलरहरूलाई दबाब दिए।

यो साझेदारीलाई रियाले तोडिन्। १६ रन बनाएकी चानिदा आउट हुँदा थाइल्याण्डले १७।३ ओभरमा १ सय ३ रन जोडिसकेको थियो।

क्रिजमा जमेकी नानापाटलाई नेपाली बलरहरूले आउट गर्न नसक्दा अर्धशतकीय पारी खेलिन्। उनी ५१ बल खेल्दै ६ चौका सहित अविजित ६२ रनमा रहँदै सानदार इनिङ्स खेल्न सफल रहिन्।

१९ ओभरको समाप्तिमा थाइल्याण्डले १ सय १७ रन बनाएको थियो। सीता राना मगरको अन्तिम ओभर थाइल्याण्डले थप १३ रन जोड्यो। यो सँगै थाइल्याण्डले १ सय ३० रनको योगफल तयार पार्यो।

बलिङमा नेपालको प्रदर्शन कमजोर रह्यो। कविता, रुविना र रियाले १ ।१ विकेट लिए।

यो खेल नतिजाको आधारमा निकै महत्वपूर्ण छ। सेमिफाइनलमा पुग्ने टोली एसिसी टि ट्वान्टी एसिया कपको लागि छनोट हुनेछ।

Share Now