Prakash Adhikari June 10, 2026

काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाको समूहले कोशी प्रदेशमा संयुक्त भेला आयोजना गर्ने भएका छन् ।

विराटनगरमा आयोजना हुन लागेको कोशी प्रदेशस्तरीय भेलामा देउवा र कोइरालाको समूहको एकसाथ जमघट हुने भएको हो ।

संस्थापन इतर समूहले ३१ जेठमा आयोजना गर्न लागेको प्रदेशस्तरीय भेलामा नेता कोइरालालाई प्रमुख अतिथि बनाउने भएको छ ।

कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईले देउवा समूह र कोइराला समूहको संयुक्त आयोजनामा भेला हुन लागेको बताउनुभएको छ ।

‘शेरबहादुर दाइको पुरानो टिम, शेखर दाइको टिमको संयुक्त कार्यक्रम हो,’ उहाँले भन्नुभएको छ ।

महामन्त्री राईले कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्य सुरू हुन लागेको बताउनुभएको छ ।

महामन्त्री राईका अनुसार विराटनगरको मनास्लु होटलमा भेला तय भएको छ । कोइरालाको प्रमुख आतिथ्यतामा हुन गइरहेका भेलामा नेताहरू कृष्णप्रसाद सिटौला विजयकुमार गच्छदार डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद, राजीव कोइराला प्रमुख वक्ता रहेका छन् ।

सामाजिक सञ्जालमा प्रचार–प्रसारका लागि तयार गरिएको सामग्रीमा कोशी प्रदेश स्तरीय भेलालाई ‘ऐतिहासिक बृहत भेला’ भनिएको छ ।

देउवा समूहले यसअघि बागमती, कर्णाली, गण्डकी र सुदूरपश्चिममा प्रदेशस्तरीय भेला आयोजना गरिसकेको छ ।

सात बुँदे प्रस्तावको जानकारी छैन

यसै बिच कांग्रेस नेता डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले सामाजिक सञ्जालमार्फत संस्थापन पक्षका पदाधिकारीहरुसंग हालमा संवाद नभएको र सात बुँदे प्रस्तावबारे जानकारी नभएको सार्वजनिक गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “बाहिर हल्ला गरिए अनुसार नेपाली कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने बारे डा शेखर कोइराला र उहाँको सचिवालयलाई अहिले सम्म कहिं कतै जानकारीमा छैन ।यस्ता मनगढन्ते, कपोलकल्पित र भ्रामक सुचनाको भ्रममा कोही नपर्नुहोला ।”

उहाँले थप्नुभएको छ, “कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत्र २२ गते प्रदिप पौडेल र २०८३ बैशाख २२ गते गगन थापाले नेता शेखर कोइरालालाई बिशालनगरस्थित सचिवालयमा आएर भेट्नुभएको हो । त्यस भन्दा पछाडि कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क भएको छैन ।”

Share Now