Prakash Adhikari June 16, 2026
काठमाडौँ, १ असारः नेपाल र चीनबीच पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता तथा संवेदनशीलताप्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
ती क्षेत्रहरूमा पूर्वाधार, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण, तथा जनस्तरका सम्बन्ध समावेश छन् ।
चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा विदेश मामिलामन्त्री वाङ यीसँग आज बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको हो ।
उक्त अवसरमा दुई देशका प्रतिनिधिमण्डलबीच मित्रता, सद्भावना र सहकार्यले परिभाषित नेपाल–चीन सम्बन्धका समग्र आयामबारे सारगर्भित छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता पुनःव्यक्त गर्दै नेपालको भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने स्पष्ट गरेको थियो ।
त्यस्तै, चिनियाँ पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ प्रतिबद्धता पुनःदोहो¥याउँदै सुशासन तथा आर्थिक वृद्धिका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतालाई पूर्ण समर्थन रहने आश्वासन दिएको थियो ।
मन्त्रालयका अनुसार दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम तथा परियोजनाको शीघ्र कार्यान्वयनप्रति बलियो प्रतिबद्धता व्यक्त गरेका  छन् । साथै, दुवैपक्षले बहुपक्षीय तथा क्षेत्रीय मञ्चमा साझा चासोका विषयमा थप सहकार्य अघि बढाउने विषयमा जोड दिएका नेपाली दूतावास, बेइजिङले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वार्तापश्चात् मन्त्री खनालले विदेशमन्त्री वाङले उहाँको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागिता जनाउनुभएको थियो । यसअघि आजै परराष्ट्रमन्त्री खनालले बेइजिङमा चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा पार्टीपार्टी आदानप्रदानसहित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा विचार आदानप्रदान भएको थियो ।
आजै मन्त्री खनालले बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेजअन्तर्गतको इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चको भ्रमण गर्नुभएको थियो । उहाँले उक्त संस्थानका गतिविधिहरू, विशेषगरी त्रिभुवन विश्वविद्यालयसहित नेपाली संस्थासँग भइरहेको सहकार्यबारे जानकारी लिनुभएको थियो ।
भ्रमणका क्रममा मन्त्री खनालले विज्ञान तथा प्रविधिका क्षेत्रमा दुई पक्षबीचको सहकार्यलाई अझ गहिरो बनाउने आवश्यकतामा जोड दिनुभएको थियो । उहाँ चीनका विदेश मामिलामन्त्री वाङको सौहार्दपूर्ण निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुग्नुभएको थियो । मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।
Share Now