Prakash Adhikari June 16, 2026

काठमाडौँ, २ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३।८४ का लागि ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले मध्यरातमा प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।

उहाँले कृषि र पर्यटनसँगै पूर्वाधार विकासमा जोड दिएर बजेट ल्याइएको बताउनुभएको छ। बजेटमा उहाँले कर्मचारीको तलब भत्ता १० प्रतिशत बढाएको घोषणा गर्नुभयो ।

सत्तारुढ दलहरूबीचको सहमति जुटाउदा जुटाउदै मध्यराति बजेट प्रस्तुत भएको हो । बजेटमा उहाँले मन्त्रालयगत विवरणसमेत प्रस्तुत गर्न भ्याउनुभएन ।

बजेटको खर्च व्यहोर्ने स्रोततर्फ उहाँले आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड तथा नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६६ हजारको स्रोत उल्लेख गर्नुभयो।

त्यस्तै, संघीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने ७ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख, आर्थिक वर्ष २०८२र८३ को विनियोजनबाट बचत हुने ९ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने ६ अर्ब ३ करोड ५८ लाख, समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान मन्त्री धामीले गर्नुभएको छ ।

 

Share Now