Prakash Adhikari June 20, 2026

 

भरतपुर(चितवन), ६ आषाढ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन भोलि देखि भरतपुरमा शुरु हुँदैछ ।

महाधिवेशनको पूर्वसंध्यामा रास्वपाका सभापति रवि लामिछानेले आज महाधिवेशन स्थल भरतपुरमा पार्टीको केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ ।

बैठक आज दिउँसो १ बजे चितवनको भरतपुरस्थित होटल सिरामी (सिमटी) को हलमा बस्ने तय भएको छ।

आजको बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीका साथै देशैभरिबाट महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूको उचित व्यवस्थापनका विषयमा सघन छलफल हुने कार्यसूची रहेको छ।

यसका साथै महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिने सांगठनिक तथा राजनीतिक प्रतिवेदनहरू र पार्टीको आगामी कार्यदिशा तय गर्ने विधान संशोधनका सम्बन्धमा समेत केन्द्रीय सदस्यहरूबीच विस्तृत समीक्षा र छलफल गरी एजेन्डाहरू पारित गरिने तय भएको छ।

महाधिवेशन र नेतृत्वको चर्चा

महाधिवेशनको लागि देशभरका पार्टी कार्यकर्ता र समर्थकहरु चितवन पुगेका छन् । नेतृत्वका आकांक्षीहरुले प्रतिनिधिसँग भोट माग्ने क्रम शुरु भएको छ । देशभरका ७७ वटै जिल्ला र ३८ भन्दा बढी देशमा रहेका वैदेशिक शाखाहरूबाट २ हजार ५ सयदेखि ३ हजार जना प्रतिनिधि तथा पर्यवेक्षकहरू चितवन आइपुग्दै छन्।

पार्टीले कुल प्रतिनिधिहरूमध्ये कम्तीमा एक तिहाइ अर्थात ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ।

संशोधित विधान अनुसार पदाधिकारी संख्या १३ बाट बढाएर १९ पुर्याइएको छ। यसपटकको महाधिवेशनमा केही शीर्ष पदहरूमा सर्वसम्मतिको वातावरण बने पनि बाँकी शक्तिशाली पदाधिकारी र केन्द्रीय सदस्य पदहरूमा प्रतिस्पर्धा हुने देखिएको छ।

पार्टीभित्र एकता र सरकार पार्टीबीच समन्वय रहेको सन्देश दिन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्विरोध निर्वाचित गर्ने समझदारी नेतृत्व तहमा भईसकेको छ । पार्टी सभापतिमा स्वच्छ व्यक्ति खोजी हुने संभावनालाई टार्न लामिछानेका मुद्दाहरु भटाभट सरकारी दबावमा जिल्ला अदालतहरुले फिर्ता लिएर बाटो क्लियर गरिदिएका छन् ।

तीन उपसभापतिमा अर्थमन्त्री स्वर्णीम वाग्ले आउने निश्चित छ । नयाँ विधानमा एक महिला पनि अनिवार्य गरिएकोले पूर्व उपसभामुख इन्दिरा राना मगर सो पदमा आउने आँकलन गरिएको छ । सो पदका लागि हालकी कोषाध्यक्ष लीमा अधिकारीले पनि चासो देखाउनुभएको छ ।सहप्रवक्ता तथा मन्त्री प्रतिभा रावलले पनि उपसभापतिमा चासो राख्नुभएको छ । अर्को एक उपसभापतिको पदमा हालका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई लगिन्छ कि भन्ने अडकल गरिएको छ ।त्यसो त संसदीय दलका उपनेता गणेश पराजुली र विवेकशील साझाबाट आउनुभएकी समीक्षा बाँस्कोटाले पनि उपसभापतिमा आँखा लगाउनुभएको छ ।

रास्वपाको विधान अनुसार केन्द्रीय समितिमा जना महामन्त्री रहने व्यवस्था छ। हाल कार्यरत यी दुई महामन्त्रीहरूमध्ये भूपदेव शाह पुनः सोही पदमा दोहोरिने सम्भावना बलियो छ । अर्का महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उपसभापतिमा लगिए मनिष झा महामन्त्रीमा पदोन्नति हुने बलियो संभावना छ ।

हुन त कानून मन्त्री सोविता गौतम, परराष्ट्र मन्त्री शिशिर खनाल र सचिवालय सदस्य दीपक बोहराले पनि महामन्त्रीका दौडमा हुनुहुन्छ।

रास्वपा विधानमा एक महिलासहित ५ जना सहमहामन्त्री रहने व्यवस्था गरिएको छ ।वर्तमान सहमहामन्त्री विपिन आचार्य पुनः सहमहामन्त्रीमा दोहोरिन सक्ने बताइएको छ । त्यसबाहेक विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, गणेश कार्की, हरि ढकाल, प्रकाशचन्द्र परियार पनि यो पदका आकांक्षी हुनुहुन्छ । पार्टीका एक प्रवक्ता र एक महिला सहित तीन सहप्रवक्ता पदका लागि पनि केन्द्रीय सदस्य निर्वाचित भएपछि नेताहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ।

पार्टीको कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा त्यति धेरै आकांक्षीहरु देखा परेका छैनन् । खासमा अन्य पार्टी जस्तै यो पार्टीको पनि यी पदहरु शोभा मात्रै हुन् । पार्टी सञ्चालनको खर्च पार्टी सभापति, प्रधानमन्त्री र मन्त्रीहरुको खल्तीमा जाने र त्यहाँबाट आउने भएकोले यो पदमा नेतृत्वले विश्वास गरेको व्यक्तिहरुलाई टपक्क टिपेर ल्याउने अवस्था छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको विधान सभापतिलाई विशेषाधिकार भएको प्रेसिडेन्सियल शैलीको छ ।बिहीबार बसेको रास्वपा सचिवालय बैठकले विधान संशोधन गर्दै १९ मध्ये ११ जना पदाधिकारीहरू सभापतिले मनोनीत गर्न सक्ने खुकुलो व्यवस्था प्रस्ताव गरेको छ। यस अनुसार सभापतिले १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, एक प्रवक्ता, ३ सहप्रवक्ता, १ कोषाध्यक्ष र २ सहकोषाध्यक्ष मनोनीत गर्न पाउनेछन्।

पार्टी सञ्चालमा सजिलो पनि हुने र विवेकशील साझा, थारुहाट आन्दोलन र अन्य स्वतन्त्र समूहबाट पार्टीमा भर्खरै समाहित भएका नेताहरूलाई चुनाव नलडाई नेतृत्वमा ल्याउने मनसायले यस्तो व्यवस्था गरिएको बताइएको छ । त्यसैले धेरै पदहरूमा चुनावी प्रतिस्पर्धाभन्दा पनि आन्तरिक समझदारीबाटै पदको बाँडफाँट हुने सम्भावना बढी देखिन्छ।

महाधिवेशन सम्पन्न गर्न करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जुन प्रतिनिधिहरूको शुल्क र पार्टी सदस्य तथा चन्दा तथा दान सहयोगबाट जुटाइएको छ ।

Share Now