Prakash Adhikari July 8, 2026

एटलाण्टा(संयुक्त राज्य अमेरिका), २३ आषाढ । फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ को एक निकै नै सनसनीपूर्ण र रोमाञ्चक खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोल अन्तरले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

एटलान्टा स्टेडियममा मंगलबार भएको खेलमा एक समय २–० ले पछि परेको र कप्तान लियोनेल मेसीले पेनाल्टी गुमाएको खराब स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्थान बनाएको हो।

खेलको अन्तिम २० मिनेटमा ३ गोल फर्काउँदै अर्जेन्टिनाले विश्वकप इतिहासकै सबैभन्दा ठूलो उलटफेर हुनबाट आफूलाई जोगायो।

खेलको १५ औँ मिनेटमै इजिप्टका यासेर इब्राहिमले मार्वान आत्तियाको कर्नर पासमा उत्कृष्ट हेडिङ गोल गर्दै इजिप्टलाई १–० को अप्रत्याशित अग्रता दिलाएका थिए। २१औँ मिनेटमा निकोलस तागलियाफिकोलाई डिबक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको सुवर्ण अवसर पायो। तर, कप्तान लियोनेल मेसीको प्रहारलाई इजिप्टका गोलकिपर मोस्टफा सोबेइरले सानदार बचाउ गर्दै विफल पारिदिए। यो विश्वकपमा मेसीले मिस गरेको यो दोस्रो पेनाल्टी हो।

पेनाल्टी मिस भएर निरास बनेको अर्जेन्टिनालाई खेलको ६७औँ मिनेटमा अर्को झट्का लाग्यो । इजिप्टका मोस्टफा जिकोले मोहम्मद सालाह र हसनको काउन्टर अट्याकमा उत्कृष्ट फिनिसिङ गर्दै टोलीको अग्रता २–० मा पुर्‍याए। योसँगै अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने खतरा बढेको थियो।

खेल सकिन ११ मिनेट बाँकी छँदा ७९औँ मिनेटमा डिफेन्डर क्रिस्टियन रोमेरोले फ्रि हेडिङमार्फत गोल गर्दै अर्जेन्टिनालाई २–१ को स्थितिमा ल्याए र खेलमा नयाँ उर्जा थपे। पेनाल्टी मिसको गल्तीलाई सुधार्दै ८३औँ मिनेटमा लियोनेल मेसीले जुलियान अल्भारेजको पासमा उत्कृष्ट हाफ–भली प्रहार गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याए। खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिँदा इन्जुरी समयको दोस्रो मिनेटमा लाउतारो मार्टिनेजको क्रसमा एन्जो फर्नान्डेजले सानदार हेड गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अविश्वसनीय जित दिलाए।

अर्जेन्टिनाका एन्जो फर्नान्डेजले खेलको ९२औँ मिनेटमा गरेको निर्णायक गोल फिफा विश्वकप इतिहासकै ३,०००औँ ऐतिहासिक गोल बन्न पुगेको छ। त्यस्तै, इजिप्टका गोलकिपर मोस्टफा सोबेइर विश्वकपको एकै संस्करणमा दुई पेनाल्टी बचाउने इतिहासकै चौथो गोलकिपर बनेका छन्।

यो रोमाञ्चक जितसँगै क्वार्टरफाइनलमा पुगेको साविक विजेता अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि आगामी शनिबार क्यान्सास सिटीमा स्विट्जरल्याण्ड वा कोलम्बिया मध्येको एक विजेताको सामना गर्नेछ।

Share Now