Prakash Adhikari July 7, 2026

काठमाडौं, २३ आषाढ। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएका अधिकांश आरोपीलाई काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर गरेको छ ।

जिल्ला अदालत, काठमाडौँले मंगलबार सुनाएको यस मुद्दाको फैसलामा सात जना आरोपीलाई सफाई दिइएको छ। यो प्रकरण चल्दा पदीय जिम्मेवारीमा रहनुभएका तात्कालीन गृहमन्त्री बालकृष्ण खाँण र उपप्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका टोपबहादुर रायमाझीसहित अधिकांश आरोपीहरु कसूरदार ठहरिनुभएको छ।  कसुरदारहरुलाई सजाय निर्धारण भने अर्को पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा भनिएको छ ।

२०८० जेठ १० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो । कागजात तयार पारी सङ्गठित गिरोहको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी अभियोगपत्रमा लगाइएको थियो ।

यस प्रकरणमा मुख्य बिचौलियाद्वय केशव दुलाल,उहाँँकी पत्नी दीपा हुमागाईं, अर्का बिचौलिया सानु भण्डारी र सन्देश शर्मा, साथै गिरोहको नेटवर्कमा रहेर काम गर्ने टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, बिचौलिया हरिभक्त महर्जन, उहाँँकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल विरुद्ध पनि यही कसुरमा दायर मुद्दा दायर भएको थियो।

रायमाझी योजनाकार !

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको करोडौँको ठगी र सङ्गठित अपराध प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई मुख्य योजनाकार बनाउँदै दोषी ठहर गरेको छ भने पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई मतियार भनी दोषी ठहर गरेको छ।

नीतिगत सेटिङ मिलाउने र रकम असुलीमा संलग्न रहेको भन्दै रायमाझीलाई सङ्गठित ठगी र राज्य विरुद्धको कसुरमा दोषी ठहर गरिएको छ।

पूर्वगृहमन्त्री खाँणलाई सङ्गठित ठगी र सङ्गठित अपराधमा ुमतियारु को रूपमा दोषी ठहर गरिएको छ । उहाँले मन्त्री पदमा रहँदा बिचौलियाको स्वार्थ अनुसार निर्णय प्रक्रियामा सहयोग पुर्‍याएको फैसलामा उल्लेख छ ।

त्यस्तै पूर्वगृहसचिव टेकनारायण पाण्डे सरकारी लिखत किर्ते गर्ने र गिरोहलाई मन्त्रालयको गोप्य सूचना उपलब्ध गराउने कार्यमा पाण्डेको मुख्य भूमिका रहेको ठहर गरिएको छ। उनलाई सङ्गठित ठगी, किर्ते र राज्य विरुद्धको अपराधमा दोषी मानिएको छ ।

तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई गृह मन्त्रालयमा बसेर भुटानी शरणार्थी सम्बन्धी प्रतिवेदन फेरबदल गर्ने र बिचौलियाबाट मोटो रकम लिने कार्यमा राईको प्रत्यक्ष संलग्नता देखिएको छ ।

केशव प्रसाद दुलाल र सानु भण्डारी योजनाकार भएको भन्दै दोषी ठहर गरेको छ । उनीहरूले नै पीडितहरूबाट करोडौँ रकम उठाएको, नक्कली डकुमेन्ट बनाएको र राजनीतिक नेतृत्वसँग सेटिङ मिलाएको प्रमाण फेला परेको अदालतले उल्ल्ेख गरेको छ।

भण्डारीको घरबाट बरामद डायरीमा कुन नेतालाई कति पैसा बुझाइयो भन्ने विवरण फेला परेको थियो, जसलाई अदालतले महत्त्वपूर्ण प्रमाणको रूपमा लिएको छ ।

सन्देश शर्मा र सागर राईले दाङ, बुटवल र बागलुङ क्षेत्रका सोझा नागरिकहरूलाई प्रलोभनमा पारी रकम सङ्कलन गर्ने र नक्कली परिचयपत्र वितरण गर्ने काम गर्नुभएको थियो ।

पाँच जना मतियार

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ५ जना प्रतिवादीहरूलाई सङ्गठित ठगीको मतियार ठहर गरेको छ।

न्यायाधीश तेज बहादुर खड्काको इजलासले टेकनाथ रिजाल, नरेन्द्र के.सी., शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई मतियारको रूपमा कसूरदार ठहर गरेको हो।

अदालतको फैसलामा प्रतिवादी शमशेर मियाँले आर्थिक लाभ लिएको नदेखिए पनि सरकारी सुविधाको सवारी साधन ठगी गर्ने समूहका सन्देश शर्मालाई उपलब्ध गराएर सर्वसाधारणमा सरकारी कर्मचारी भन्ने भ्रम पैदा गराई ठगीमा सहयोग पुर्‍याएको पुष्टि भएको उल्लेख छ। त्यस्तै, हरिभक्त महर्जनले आफ्नी पत्नी र सहकारीका कर्मचारीको बैंक खाता उपलब्ध गराई ठगीको रकम ट्रान्सफर गर्न सहयोग पुर्‍याएको फैसलामा उल्लेख छ।

अर्का प्रतिवादी निरञ्जन कुमार खरेलले भने आफू सुरक्षाकर्मी भएको भ्रममा पारी पीडितले बुझाएको रकम मुख्य योजनाकारसम्म पुर्‍याउने र बायोमेट्रिक गराउने ठाउँहरूमा उपस्थित भएर सङ्गठित ठगीमा प्रत्यक्ष सहयोग पुर्‍याएको ठहर अदालतले गरेको छ।

यी सबै गतिविधिले उहाँहरूलाई सङ्गठित ठगीको मुख्य कसूरदार नभई ुमतियारुको रूपमा प्रमाणित गरेको अदालतको ठहर छ।

सातजनालाई सफाई

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका मध्ये अदालतले सात जनालाई सफाई दिएको छ । सफाई पाउनेहरुमा सन्दीप रायमाझी (टोपबहादुर रायमाझीका छोरा), रामशरण के.सी., टंककुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधर, प्रतिक थापा र आशिष बुढाथोकीले सफाइ पाउनुभएको छ ।

उहाँहरू विरुद्ध लगाइएको अभियोगमा पर्याप्त तथ्यगत आधार नदेखिएको फैसलामा उल्लेख छ।

दोषी ठहर हुनेहरु

अदालतबाट दोषी ठहर हुनेहरुमा बालकृष्ण खाँण, टोपबहादुर रायमाझी,टेकनारायण पाण्डे ,टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई,शम्सेर मियाँ ,आङटावा शेर्पा, डा.इन्द्रजीत राई,नरेन्द्र केसी,केशव तुलाधर,हरिभक्त महर्जन,मोहनराज राई,निरञ्जन कुमार खरेल,राजेश अर्याल,बिनिता लिम्बु ,सुनिल बुढाथोकी,दिपा हुमागाँई, निरज राई ,अशोक पोखरेल,धिरेन राईर बेचन झा हुनुहुन्छ ।

 

Share Now