काठमाडौं, २९ आषाढ । प्रधानमन्त्री बालेन्द्र शाह र अर्थ मन्त्री डा. स्वर्णीम वाग्लेको कार्यकालमा नेपालको शेयर बजारले घट्ने दरमा कीर्तिमान कायम गर्ने संकेत देखिएको छ । भ्रष्टाचार,ढिलासुस्ती र झन्झट बिनाको शासन तथा प्रशासन दिने गुड्डी हाक्ने बालेन सरकार गठन भए यता नेपालको शेयर बजारले उकालो लय समात्न सकेको छैन् ।
प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको क्याबिनेटका मन्त्रीहरुले चैत्र १३ गते सपथ लिनुभएको थियो । चैत १५ मा बजार खुलेको दिन नेप्से परिसूचक २८७९.११ मा ओर्लियो।
विगत दुई वर्षको परिसूचक तुलना गर्ने हो भने २०८१ साउन ३१ गते नेप्से ३,०००.८१ को उच्च बिन्दुमा पुगेको देखिन्छ भने असोज १३ गते २,४६४ को न्यून बिन्दुमा पुगेको देखिन्छ।
अहिले शेयर बजारको ओरालो यात्रा २०८१ असोज १३ को न्यून बिन्दुभन्दा पनि तल जाने हो कि भन्ने त्रास उत्पन्न भएको छ ।
पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ।
सोमबार नेप्से परिसूचक ३०.६० अंक घटेर २५७०.१८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ६ अर्ब ८६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ६८ स्टकको ४ करोड १७ लाख २५ हजार कित्ता शेयर खरिदबिक्रीबाट ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँबराबरको कारोवार भएको छ। ऋणपत्रको कारोबार बढेसँगै यस दिन पनि कारोबार रकम बढ्न पुगेको हो।
यस दिन बढेका स्टकहरुको मूल्य वृद्धिदर साढे ५ प्रतिशतभन्दा कम रहेको छ। मूल्य बढेका शीर्ष १० स्टकहरुको पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ५.३७ प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ११.२८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनएमबि डिबेञ्चर ८.५० प्रतिशत २०८७।८८ शीर्ष स्थानमा रहेको छ। यस दिन ४८ करोड ४६ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको हो। त्यस्तै, यस दिन ४६ करोड ६५ लाख रुपैयाँभन्दा बढीको १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५।८६ किनबेच भएको छ भने एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०९१ को कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।








