एटलाण्टा(संयुक्त राज्य अमेरिका), ३२ आषाढ । इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।
अब अर्जेन्टिना आइतबार हुने फाइनल खेलमा स्पेनसंग भिड्ने भएको छ ।
आज एटलान्टा स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।
आजको खेलमा पहिलो गोल इंग्ल्याण्डले गरेको थियो । अमेरिकाको एटलान्टा स्टेडियममा जारी अर्जेन्टिना र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेलमा ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर खेलको ८५औं मिनेटमा अर्जेन्टिनाले पुनरागमन गर्यो । मिडफिल्डर एन्जो फर्नान्डेजले उत्कृष्ट गोल गर्दै खेललाई १(१ को रोमाञ्चक बराबरीमा ल्याए ।
खेल अतिरिक्त समयतर्फ धकेलिने सङ्केत देखिइरहेका बेला थप गरिएको समय (इन्जुरी टाइम) को दोस्रो मिनेट अर्थात ९२ औं मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले निर्णायक गोल गरे। मार्टिनेजको यस उत्कृष्ट गोलसँगै अर्जेन्टिनाले २(१ को जित निश्चित गर्दै फाइनल यात्रा तय गर्यो ।
यस पराजयसँगै ६० वर्षपछि पहिलो पटक विश्वकप फाइनल पुग्ने इङ्ग्ल्यान्डको सपना समाप्त भएको छ भने लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना लगातार दोस्रो उपाधि जित्ने ऐतिहासिक अभियानको नजिक पुगेको छ ।








