Prakash Adhikari July 19, 2026

काठमाडौं, ३ साउन। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीभित्रको एकता कायम राख्न भन्दै आफ्नो पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। संस्थापन पक्षबाट एकताका विषयमा भ्रमपूर्ण प्रचार भएको भन्दै इतर समूहले सो प्रस्ताव बाहिर ल्याएको हो।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको पदाधिकारी, पूर्वसदस्य र प्रदेश तथा जिल्ला सभापतिहरूको बैठकपछि नेता मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा पार्टी एकतालाई लिएर बजारमा चलेका हल्लाहरू निराधार र भ्रामक रहेको उल्लेख छ। साथै, उपसभापति विश्वप्रकाश शर्माले पठाएका प्रस्तावहरूमाथि जेठ १८ गते नै औपचारिक छलफल गरी सहमति खोज्ने प्रयास भएको विज्ञप्तिमा जनाइएको छ।

इतर समूहले राखेका प्रस्तावहरूमा १४औँ महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँग मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने उल्लेख छ।

साथै, पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकबाटै १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरूमा वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी व्यवस्था गर्ने प्रस्ताव अघि सारिएको छ।

यसका साथै, तत्कालीन महामन्त्री गगन थापा संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५औँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गर्नुपर्ने र डिजिटल इन्ट्रीलाई नवीकरणको नाममा महाधिवेशनमा भाग लिन पाउने अधिकारसँग जोड्न नहुने विषयमा पनि इतर समूहले जोड दिएको छ।

Share Now