उत्रिच (नेदरल्याण्ड्स), ७ साउन । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगतका खेलका लागि नेदरल्याण्ड्स आएको नेपाली टिमले आफ्नो दोस्रो खेलमा पनि झूर प्रदर्शन गरेको छ ।
नेपालमा भएका लिग २ का दुई श्रृखलामा राम्रो प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्स श्रृखलाको पहिलो खेलमा नामिबियासंग लज्जास्पद पराजय ब्यहोरेको थियो । आज भइरहेको दोस्रो खेलमा पनि नेपालको प्रदर्शन सुध्रेको छैन ।
नेदरल्याण्ड्सको उत्रिचस्थित स्पोर्टस्पार्क मार्शलकेरविर्ड रंगशालामा टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले ५० ओभरको खेलमा ४४.४ ओभरमा अल आउट हुँदै १ सय ५७ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि आरिफ शेखले ४१, गुल्शन झाले २९, दीपेन्द्रसिंह ऐरीले २१, आशिफ शेख, १४, करन केसीले १३, सोमपाल कामीले १०, कुशल भूर्तेल ९, इशान पाण्डे ४,कप्तान रोहित पौडेल ३ रनको योगदान गरे । सन्दीप लामिछाने र ललित राजवंशीले खाता नै खोल्न सकेनन् ।
नेपाललाई रोक्ने क्रममा नेदरल्याण्ड्सका अलेक्स रोय र लियोनअफ भान डर मार्भिले ३ । ३, लगन भान विकले २ र क्याल क्लिनले १ विकेट लिए । एक विकेट रन आउटबाट आयो ।
नेपालले लिग २ को नेपाल सेरिज लगत्तै एशियाली गेम्स छनोटमा पनि राम्रै गरेको थियो । त्यस लगत्तै लिग २ को तयारी थालेको टिम लिग २ का खेल सुरु हुनु अगाडि जर्सी टापुसंग २ खेलको श्रृखला खेलेको थियो । भक्तपुर भन्दा पनि सानो टापु राष्ट्रसंगको श्रृखला संघर्षपूर्ण जित निकालेको नेपालको राष्ट्रिय पुरुष टिम नामिबियासंगको खेलबाट पाठ सिक्ने अपेक्षा गरिएको थियो । तर नेपाली टिमका कुनै पनि खेलाडीमा त्यस्तो सार्पनेस देखिएन । उही भेडा संस्कृति दोहोरियो । ओपनर कुशल भूर्तेल जसरी शिकार भए बाँकी पनि त्यही बाटो समाए । एक दिवसीय खेलमा टिकेर खेल्नु पर्छ, भन्ने हेक्का कसैलाई भएन । पूरै ओभर नखेली नेपाली खेलाडी अल आउट भए ।
नेपाली खेलाडीहरु मात्तिन्छन कि आत्तिन्छन कि पात्तिन्छन् ? कप्तान, मुख्य तथा सहायक प्रशिक्षक र क्रिकेट संघका पदाधिकारीले यसको खोजी गरी कमजोरी हटाउन जरुरी भैसकेको छ । नेपाली क्रिकेटको हालको अवस्था खेल्नेलाई भन्दा हेर्नेलाई लाज लाग्ने अवस्थामा पुगिसक्यो ।








