
ओस्लो(नर्बे),१७ असोज (बीबीसी) । एन्जाइमबारे गरिएका अनुसन्धानका लागि एक महिलासहित तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार प्रदान गरिएको छ।
अमेरिकी वैज्ञानिकहरू फ्रान्सेस आर्नोल्ड र जोर्ज पी स्मिथ र ब्रिटेनका वैज्ञानिक ग्रेगरी विन्टरले संयुक्त रूपमा सो पुरस्कार पाएका हुन्।
उनीहरूले ‘डिरेक्टिड इभ्युलुशन’ नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिनहरू बनाएका थिए। त्यसरी बनाइएका प्रोटिन नयाँ औषधिदेखि इन्धनसम्म बनाउन र विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ।
प्यासडिनास्थित क्याल्टेकमा कार्यरत आर्नोल्डले पहिलो चोटि ‘न्याचुरल सेलेक्शन’ अर्थात् ‘प्राकृतिक चयन’ प्रक्रियाको अनुकरण गर्ने विधि प्रयोग गरेर विशेष काम गर्न सक्ने एन्जाइमहरू विकसित गरेकी थिइन्।
एन्जाइमहरू ‘बायोलजिकल क्याटलिस्ट’ अर्थात् जैविक उत्प्रेरक हुन्। तिनले जैविक कोषहरूमा हुने रासायनिक गतिविधिको गति बढाउँछन्।
प्राध्यापक आर्नोल्डले विकसित गरेको यो प्रविधि हिजोआज नयाँ एन्जाइमहरू बनाउन प्रयुक्त हुन्छ।
This year’s Chemistry Laureates have taken control of evolution and used the same principles – genetic change and selection – to develop proteins that solve humankind’s chemical problems. #NobelPrize pic.twitter.com/rDKc2YwLgb
— The Nobel Prize (@NobelPrize) October 3, 2018
भाइरसको प्रयोग
जोर्ज पी स्मिथ र सर ग्रेगरी विन्टरले नयाँ प्रोटिनहरू बनाउन प्रयोग गर्ने ‘फेज डिस्प्ले’ नाम गरेको प्रविधि विकसित गरेका हुन्।
नयाँ एन्टिबडी उत्पादन गर्न उनीहरूले ‘ब्याक्टेरिअफेज’ अर्थात् ब्याक्टेरियालाई सङ्क्रमण गर्ने भाइरस प्रयोग गरे। हानिकारक जीवाणु र अन्य पदार्थलाई प्रभावहीन बनाउन शरीरको रोगप्रतिरोध प्रणालीले प्राकृतिक रूपमै एन्टिबडी बनाउँछ।
यस विधिबाट उत्पादित एन्टिबडी सन् २००२ मै औषधीय प्रयोगका लागि स्वीकृत भएको थियो। बाथ, सराइअसिस भनिने चर्मरोग र पेटमा शूल हुने विभिन्न रोगको उपचारमा त्यसको प्रयोग हुन्छ।
त्यसपछि ‘फेज डिस्प्ले’ विधि प्रयोग गरेर जैविक रूपमा बन्ने विषाक्त पदार्थलाई निष्प्रभावित बनाउने, आफ्नै रोगप्रतिरोध प्रणालीकै कारण हुने रोग र फैलिएको क्यान्सर नियन्त्रण गर्ने क्षमता भएका एन्टिबडीको उत्पादन गरिएको छ।
आर्नोल्डले ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलर पुरस्कारराशिको आधा भाग पाउनेछिन् भने स्मिथ र विन्टरले बाँकी रकम बाँड्नेछन्।
यस वर्षका विजेता
सोमवार चिकित्साशास्त्र विधातर्फको नोबल पुरस्कारको घोषणा भएको थियो।
शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएका अमेरिकाका प्राध्यापक जेम्स पी एलिसन र जापानका प्राध्यापक तासुकु होन्जोले चिकिस्ताशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार संयुक्त रूपमा पाएका छन्।
लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिला सहित तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा मङ्गलवार गरिएको थियो।
क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक भएकी छन्। उनीभन्दा पहिला सन् १९०३ मा मरी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्ट-माएरले भौतिकशास्त्रतर्फ सो पुरस्कार पाएका थिए।
डा. स्ट्रिक्ल्यान्डले अमेरिकाका डा. आर्थर याश्किन र फ्रान्सका डा. जेरा मोरूसँग आफूले लेजर फिजिक्सको क्षेत्रमा गरेका अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार पाएकी हुन्।
कुन विधामा बाँकी?
पर्सि शुक्रवार शान्तितर्फ र आगामी सोमवार अर्थशास्त्र तर्फका विजेताका नाम घोषणा गरिनेछ।
एउटा यौनदुर्व्यवहारको घटनाका कारण स्वीडिश अक्याडमीले यस वर्ष साहित्यविधाको नोबल पुरस्कार विजेताको नाम घोषणा गर्नेछैन।
अर्को वर्ष सन् २०१८ र २०१९ का विजेताको घोषणा एकैचोटि गरिने बताइएको छ।