काठमाडौं, २० साउन । साताको तेस्रो कारोबार दिन बुधवार नेपालको शेयर बजार उकालो यात्रा सुरु गरेर बन्द भएको छ ।
यस दिन नेपालको धितोपत्र बजार परिसूचक ४.७९ अंक बढेर २६६७.९७ विन्दुमा रोकिएको छ ।
यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ४ अर्ब ७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ५० स्टकको १ करोड ६७ हजार कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन सोलु हाइड्रोपावरको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ८७ रुपैयाँ ७० पैसा बढेर ६७२ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको हो। अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ।
यस दिन शिखर पावर डेभलपमेण्ट, गुडविल फाइनान्स डिबेञ्चर ८३,बुद्धभूमि हाइड्रोपावर, सिनर्जी हाइड्रो, याम्बिलिड. हाइड्रो, बोटलर्स नेपाल तराई र मेगा म्युच्युअल फण्ड १ को शेयर मूल्य बढेको छ ।
यस दिन पछिल्ला १२ कारोबार दिनदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको एभरेष्ट कलरको शेयरमूल्य सर्वाधिक ९.०३ प्रतिशत घटेको छ। यस दिन शेयर मूल्य अधिक ह्रास भएका अन्य कम्पनीहरुमा कामना सेवा विकास बैंक डिबेञ्चर ८७, मञ्जुश्री फाइनान्स डिबेञ्चर ८५, नेपाल बैंक डिबेञ्चर ८२, १० प्रतिशत प्रभु बैंक डिबेञ्चर ८४,सिद्धार्थ इक्विटी फण्ड २,कुमारी बैंक लिमिटेड डिबेञ्चर ८६, कर्पोरेट बैंक लिमिटेड, सामुदायिक लघुवित्त र रिलायन्स स्पिनिड. मिल रहेका छन् ।
कारोबार रकमका आधारमा अधिक रकमको कारोबार हुने कम्पनीमा यस दिन सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड १० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको करिब ३५ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने खानीखोला हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ। धेरै कारोबार हुने शीर्ष १० कम्पनीभित्र पर्ने अन्य कम्पनीहरुमा एभरेष्ट कलर लिमिटेड, सेन्ट्रल फाइनान्स, एनआरएन, आँखुखोला जलविद्युत, नेशनल हाइड्रो, सिद्धार्थ बैंक लिमिटेड र रिलायन्स मिल्स लिमिटेड रहेका छन् ।
१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १।६० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।








