काठमाडौं, १२ भाद्र । भोटेकोशी र त्रिशूली नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार र राहत तथा पुनस्थापनाका लागि नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैया प्रदान गरेको छ ।
बैंकले आफ्नोो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रू. ३ करोड १ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो ।
बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रू.३ करोड १ लाखकोे चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको छ ।
नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट बाढी पीडितका लागि आर्थिक सहयोग प्रदान गरेकोमा अर्थमन्त्री डा. वाग्लेले बैंक परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्य लम्सालले बैंकले महाभूकम्प, कोरोना महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न राष्ट्रिय विपद्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले रसुवाको भोटेकोशी तथा त्रिशूली
नदीमा आएको विनाशकारी बाढीको कारण पीडित नागरिकहरूलाई सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य बद्री खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र सुशासन डिभिजन प्रमुख होमनाथ दाहालको उपस्थिति रहेको थियो ।








