काठमाडौं, १४ भदौ । विनाशकारी लेदोसहितको पहिरोका कारण चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) स्थित केरुङ (ग्याइरोङ) काउन्टीमा बनेको पहिरोजन्य ताल (बाँध) प्राकृतिक रूपमै बगेर पूर्ण रूपमा खाली भएको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
नेपालको छोगेन खोला र चीनको पुरेपु साङपो नदीको सङ्गमस्थल नजिकै बनेको उक्त तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भई बाहिर बग्न थालिसकेको मन्त्रालयले यसअघि जारी गरेको विज्ञप्तिमा उल्लेख थियो।
जलस्रोत मन्त्रालयद्वारा खटाइएको जलवैज्ञानिक आपत्कालीन अनुगमन टोलीको पछिल्लो विवरण अनुसार उक्त ताल अहिले सामान्य प्राकृतिक अवस्थामै बगिरहेको र थुनिएको पानी पूर्ण रूपमा खाली भइसकेको चिनियाँ केन्द्रीय टेलिभिजनले शनिबार रिपोर्ट गरेको छ।
गत बुधबार चीन-नेपाल सीमामा रहेको केरुङ नाकामा पहिरो जाँदा शनिबार साँझ ६ बजेसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५४६ जना अझै बेपत्ता रहेका छन्। सिजाङको आपत्कालीन व्यवस्थापन विभागका अनुसार बेपत्ता भएकाहरूमा २६१ जना विदेशी नागरिक रहेका छन्।








