काठमाडौँ, १४ भदौः भोटेकोशी- त्रिशुली नदीमा यही भदौ १० गते आएको बाढीमा परी सम्पर्कविहीन भएकामध्ये आइतबार साँझसम्म २ हजार ७ सय ४२ जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार उद्धार गरिएकामध्ये रसुवाबाट ७ सय १९, नुवाकोटबाट २ हजार २० र धादिङबाट तीन जना छन् ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार बाढीमा परी घाइते भएका तथा विभिन्न स्थानबाट उद्धार गरिएका केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १ सय ६० जना रहेको उहाँले जानकारी दिनुभयो ।
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका केही कर्मचारीसहित जलविद्युत् आयोजनामा काम गर्नेहरू सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागनम कार्यालयका चार, रसुवाबाट ६ सय २२, नुवाकोटबाट १ सय १५, जलविद्युत् आयोजनाबाट ९ सय ३३ जना सम्पर्कविहिन भएका छन् ।
यस्तै, मकवानपुरबाट ६५, विदेशी नागरिक ५ सय ९२, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १ सय २७, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टाइन कायालयका तीन गरी २ हजार ५ सय २ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएकाको खोजी तथा उद्धारकार्यलाई तीव्र पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार गरिरहेका छन् ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलनसँगै सम्पर्कविहीनको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।
यसैबीच, विभिन्न जिल्लाबाट ७ सय ८८ जनाको शव फेलापरेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३७, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २ सय ६४, नवलपरासीपूर्वमा १ सय ९४ र नवलपरासी पश्चिममा १ सय २० जनाको शव फेलापरेको छ








