प्रकाश अधिकारी
काठमाडौं, ६ कार्तिक । नेपाल वायुसेवा निगमले नेपाल सरकारको जमानीमा ऋण काढेर ल्याएका दुईवटा एअरबसका वाईड बडी विमानको खरिदमा कानूनको ठाडो उल्लंघन, आर्थिक अनियमितताका साथै चरम प्रशासनिक लापरवाही गरिएको भेटिएको छ ।
आशा न्युजलाई प्राप्त प्रमाण अनुसार झण्डै २४ अर्ब रुपैयामा खरिद गरिएका एअर बस ३३०—२४३ को विल अफ सेल (बिक्रेताले क्रेतालाई दिने बिक्रीको प्रमाण पूर्जा) नै नक्कली भेटिएको छ । यो प्रमाण पूर्जामा बिक्रेता कम्पनी आयरल्याण्डको हाई फ्लाई एक्स र क्रेता कम्पनी नेपाल वायुसेवा निगम दुवै कम्पनीको छाप छैन । दुवै संस्थाका प्रतिनिधिहरुको नाम कम्प्युटर टाइप पनि गरिएको छैन, हातैले लेखिएको छ ।
एअर बसले आफ्ना जहाज बिक्री गरेपछि क्रेतालाई बिक्रीको प्रमाणपूर्जा दिने गर्दछ , जसमा बिक्री गरिएको जहाजको उत्पादन सिरियल नम्बर, इन्जिनको सिरियल नम्बर, जहाजको सेरिज स्पष्ट उल्लेख गरिएको हुन्छ । यस्तो जहाज जसले किन्यो उसको नाममा नामसारी हुँदै जान्छ । निगमले उभ्याएको विवादास्पद बिक्रेता हाईफ्लाई एक्स आयरल्याण्डले सो जहाज आफूले किनेर निगमलाई बेचेको भए सो प्रमाणपूर्जा पनि निगमलाई हस्तान्तरण गरिनुपर्दथ्यो,तर जहाज आयो, प्रमाणपूर्जा आएन । यी दुई जहाजको स्वामित्व अरु कसैमा छ कि निगममा छ ? शंकै गर्नुपर्ने अवस्था आएको छ ।
निगमले कमिशनका लागि उभ्याएको हाईफ्लाई एक्स आयरल्याण्डको हैसियत नयाँ जहाज अर्डर गरि किन्ने स्तरको नभएकोले एअरबसले पत्याएन कि हाई फ्लाई एरोज पोर्चुगलले अर्डर गरेकोले एअरबसले बिक्री प्रमाणपूर्जा उसैलाई दियो ? कमिशन,मूल्यान्तर र अधिकतम उडान भार घटाउदै जहाजै फेरेर रकम खान बनाइएको बाईट बडी खरीदको अवैधानिक कन्सोर्टियमका एएआर इन्टरनेशनल इन्क, हाई फलाई एरोज पोर्चुगल र जर्मन एभिएसन क्यापिटल जीएमबीएच र हाई फ्लाई एक्स आयरल्याण्ड जसको नाममा एअरबसले यी जहाज विक्री गरेको भएपनि निगमले जहाज प्राप्ति गरेपछि सो प्रमाणपूर्जा स्वतः निगमको स्वामित्वमा आउनुपर्ने दावी निगमका वरिष्ठ अधिकारीहरु गरिरहेका छन् । बिल अफ सेलको आधिकारिक पत्र प्राप्त नभएसम्म यी जहाजमा सो पत्रबाहकले दावी संभावना रहने उड्डयन विज्ञहरु बताउछन् ।
रकम कुम्ल्याउने चक्करमा जहाजै परिवर्तन ?
निगमले २६ सेप्टेम्बर २०१६ मा वाईड बडी खरिदको आरएफपी(टेण्डर) प्रकाशित गर्दा रोल्स रोयस ७७२ बी सेरिजका ईन्जिन जडित एअरबसका वाईड बडीका दुईवटा ३३०—२०० जेट आपूर्ति गर्न प्रस्ताव माग गरेको थियो ।
सो प्रस्तावमा सहाभागी प्रस्तावदाता मध्ये एएआर इन्टरनेशनल इन्क अमेरिकाले अधिकतम् उडान भार २४२ मेट्रिक टन भएको एअरबस ३३०—२०० जहाज प्रति विमान १०४.८ मिलियन अमेरिकी डलरमा(सन् २०१६ को आधार मूल्यमा) उपलब्ध गराउने उल्लेख गरेको थियो । सो टेण्डरमा सहभागी १० वटा कम्पनीको प्रस्ताव मूल्यांकन गर्न निगमका प्राविधिकतर्फका नायब महाप्रबन्धक रमेशबहादुर शाहको संयोजकत्वमा गठित ११ सदस्यीय समितिले ३३०—२०० सेरिजको वाईड बडीको जहाजको मूल्य सन २०१६ मा ८८.०९९३१७ मिलियन डलर पर्ने र त्यसमा २.७६९९ प्रतिशत बार्षिक मूल्य बृद्धि लगाउन सकिने तथ्य सहितको प्रतिवेदन दिएको थियो । जस अनुसार सो जहाज सन २०१८ भित्र ९३.०७ मिलियन डलरमा लिन सकिने सम्भावना थियो ।निगमले अहिले ३३०-२४३ को जहाजलाई प्रति जहाज १०८.२ मिलियन डलर तिरेको छ ।
मूल्यांकन समितिको रिपोर्ट हात परेपछि निगमको तात्कालिन व्यवस्थापनले ठूलो बदमासी गरेको देखिन्छ । सो मूल्यांकनमा सबै प्रस्तावकका जहाजको प्रकार र प्रस्तावित मूल्य खुलेपछि व्यवस्थापनले ३३० सेरिजका बाईड बडीमा अधिकतम् उडानभार घटाएर त्यसको मार्जिन रकम खाने चलाखी गरेको देखिन्छ । यस पछि नै निगम व्यवस्थापनले एअरबससंग पत्राचार गरी अधिकतम उडानभार घटाउदा के हुन्छ भनेर सोधनी गरेको र एअरबसले निगमले प्रस्तावित गरेका नयाँ गन्तव्यमध्ये अष्टे«लियाबाहेकका गन्तव्यको लागि २३० मेट्रिक टन उडान भार भएको जहाजले पनि भ्याउने सल्लाह दिएको देखिन्छ । यसरी उडानभार घटाउदा प्रति मेट्रिक टन ३ लाख ५० हजार डलरका दरले प्रति विमान ४२ लाख डलरका दरले दुई विमानबाट ८४ लाख अमेरिकी डलर जुन निगमले अन्तिम किस्ता बुझाएको समयको विनिमय दरमा ९१ करोड जति हुन आउछ, सो रकम खाएर पचाउन सकिने देखेर निगम व्यवस्थापन उडान भार घटाउने दुस्साहस गरेको देखिन्छ ।
रु ९१ करोड खाने ध्याउन्नमा लागेको निगमको तात्कालिन व्यवस्थापनले अधिकतम् उडानभार घटाउदा निगमको जहाज खरिदको औचित्यमा नै प्रश्न आउनेतर्फ भने ध्यान दिएको देखिदैन । यसले एकातिर प्रस्तावकले दिन तयार भएको र निगमको विजनेस प्लानमा भएको अष्ट्रेलियाको उडान गर्नै नसकिने स्थितिको सिर्जना गर्यो भने अर्कोतिर टेण्डरमा मागिएको भन्दा फरक प्रकृतिको जहाज खरिद हुने अवस्था सिर्जना गर्यो ।
३३०—२०० को स्थानमा ३३०—२४३
निगम व्यवस्थापनले मूल्यांकन समितिको प्रतिवेदन आएपछि एएआर इन्टरनेशनल इन्कलाई बिक्रेता बनाएर २६ जनवरी २०१७ मा गरेका एअरबसका दुईवटा ३३०—२०० जहाजको बिक्रीसम्बन्धी समझदारी पत्र, हाई फ्लाई एक्स आयरल्याण्डलाई बिक्रेता बनाएर ७ अफ्रिल २०१७ मा जहाज खरिद बिक्री संझौताका सबै कागजातमा जहाजको अधिकतम उडान भार २३० मेट्रिक टन हुने उल्लेख गर्यो ।
तर यथार्थ के थियो भने एअरबसले नोभेम्बर २०१२ देखि २४२ मेट्रिक टन क्षमताका ३३०—२०० को जहाज उत्पादन थालेको थियो । यसले २०१५ मा नै यूरोपेली उड्डयन सुरक्षा निकाय ईएएसएको प्रमाणपत्र पाईसकेको थियो । निगमलाई जहाज दिन प्रस्ताव गर्ने कम्पनीले अर्डर गर्दैमा लामो समय,खर्च र विविध परीक्षणपछि परिष्कृत भैसकेको मोडलबाट एअरबस पछाडी फर्कन संभव थिएन । यसैले निगम र आपूर्तकहरुको नक्कली झुण्ड टेण्डरमा प्रस्ताव गरिएभन्दा फरक प्रकृतिको अधिकतम् उडानभार २३० मेट्रिक टन क्षमता भएको जहाज अर्डर गर्न पुगे, जुन उत्पादक एअरबसले ३३०—२४३ सेरिजको जहाजसंग मिल्दोजुल्दो पायो र सोही अनुरुप निर्माण गरिदियो ।
के फरक छ ३३०—२०० र ३३०—२४३ मा ?
एएआरले पहिले प्रस्तावित गरेको जहाजको कार्गो,यात्रु र इन्धन विनाको तौल ओपन इम्पिटी वेट ११६,७३२ केजी, उत्पादकको रित्तो जहाजको तौल १०६,४१५केजी, अधिकतम उडानभार २४२,००० केजी अधिकतम् अवतरण भार १८२,००० केजी इन्धन विनाको अधिकतम तौल १६६,००० केजी र इन्धनसहितको भुक्तानी भार (पे लोड)१२५,२६८ केजी भएको जहाज प्रस्तावित गरेको थियो ।
यो प्रस्ताव एअरबसको ३३०—२०० सेरिजका जहाजको स्पेसिफिकेशनसंग ठ्याक्कै मिल्छ । एअरबसले सन १९९३ को जनवरी १ मा जारी गरेको र २०१८ को जुलाई १ मा पछिल्लोपटक संशोधन गरेको एअरबस ए ३३० एअरक्राफ्ट क्यारेक्टरेस्टिक,एअरपोर्ट एण्ड म्यान्टेनान्स प्लानिड. एसी मा उल्लेख भए अनुसार एअरबस ३३०—२००को वेट भेरियन्ट ०८१ र ०८२(८) समान प्रकृतिका छन् जसमा अधिकतम ट्याक्सी वेट २४२,९०० केजी, अधिकतम् उडानभार २४२,००० केजी,अधिकतम् अवतरण भार १८२,००० र मेक्सिम जिरो फ्यूल वेट १६६,००० केजी रहेको छ । इन्धन क्षमता १३९,०९० लिटर हुन्छ । यी जहाजहरु १२ हजार ५ सय मीटरको उचाईमा ८७१ किमी प्रति घण्टाको दरले १५ घण्टासम्म उड्न सक्छन् । एअरबस ३३०—२००मा २४७ देखि ४०६ जनासम्म बस्न सक्छन् ।
एअरबस ए ३३० एअरक्राफ्ट क्यारेक्टरेस्टिक,एअरपोर्ट एण्ड म्यान्टेनान्स प्लानिड. एसी मा उल्लेख भए अनुसार एअरबस ३३०—२४३ मा पनि विविधता छ । तर निगमको व्यवस्थापनले प्रतिटन ३ लाख ५० हजार खाने दाउमा कम अधिकतम उडानभार भएको जहाज चयन गरेको देखिन्छ । यसको भार विविधता ०२०,०२१,०५०,०५४ र ०६१ मा परेका जहाजहरु अधिकतम् उडानभार क्षमता २३० मेट्रिक टन भएका जहाजमा पर्दछन भने ०२२,०२३,०५२ र ०५६ मा रहेका जहाजहरु अधिकतम् उडानभार २३३ मेट्रिक टन भएका जहाजमा पर्दछन् ।
यसमध्ये २३० मेट्रिक टन अधिकतम् उडानभार भएका जहाजहरुको अधिकतम् ट्याक्सी भार २३०,९००केजी,अधिकतम उवतरण भार १८० देखि १८२ मेट्रिक टन, अधिकतम् इन्धनरहित भार १६८ मेट्रिक टन छ ।