Prakash Adhikari October 27, 2018

 

काठमाडौं, १० कार्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा कानूनी राज कायम गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको स्थापनाको ६५ औं बार्षिकोत्सवको अवसरमा दलद्धारा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा शनिवार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

उहाँले देशमा शान्ति र सुरक्षाको अवस्था नाजुक हुँदै गएको बताउदै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्नुभएको थियो।

नेपाल तरुण दलद्धारा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्नैकांग्रेस सभापति देउवाले दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो।

“हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौँसम्म पत्ता नलाग्नु कानूनी राज्यका लागि चुनौती बनेको छ, यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस्, बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि दोषीलाई कारवाही होस्”, उहाँले बताउनुभयो।

दलका अध्यक्ष जीतजङ्ग बस्नेतले लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, स्थिरता र विकासका लागि सङ्गठन लागिपर्ने बताउनुभयो।

२००७ सालमा प्रजातन्त्रको स्थापनापछि सुदृढीकरणका लागि युवा समूह सङ्गठित गर्ने क्रममा विसं २०१० कात्तिक १० गते तरुण दलको स्थापना भएको हो।

काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले दल स्थापना गर्नुभएको थियो। तत्कालीन प्रधानमन्त्री कोइराला विसं २०१७ पुस १ गते तरुण दलकै कार्यक्रममा व्यस्त रहनु भएका बखत तत्कालीन राजा महेन्द्रबाट सेनाको शक्तिका बलमा ‘कू’ गरी कोइरालालाई पक्राउ गरी पञ्चायती शासन व्यवस्थाको सूत्रपात भएको थियो।

Share Now

Leave a comment.