पोखरा(कास्की),१२ कार्तिक । पोखरा प्रिमियर लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा बिराटनगरले लगातार तेस्रो हार व्यहोरेपछि प्लेअफमा पुग्ने संभावना कठिन मोडमा पुगेको छ ।
आज भएको खेलमा काठमाडौंले विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो ।
पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउदै एक सय ४९ रन बनायो । बलियो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो । तर सुनिल धमला ब्यक्तिगत ३० रनमा आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो ।
त्यसको लगत्तै विदेशी खेलाडी एन्र्डु सुबिक्सन मात्र चार रनमा आउट भएपछि विराटनगरले ६९ रनमा दोस्रो विकेट गुमायो । विराटनगरका लागि मुहम्मद जेइद आलमले ६७ रन बनाए । उनले ४७ बलमा सात चौका र चार छक्का प्रहार गरे । तर पुष्प थापा एक र प्रदिप ऐरी नौ रनमा आउट भएपछि बिराटनगरले एक सय ३७ रनमा ५ विकेट गुमायो ।
यस्तै राजेश पुलामी ३० रनमा आउट भएपछि विराटनगरले १ सय ४७ रनमा सात ६ विकेट गुमायो । लगत्तै राजु रिजाल मात्र एक रनमा आउट भए । बलिङ तर्फ काठमाडौ बसन्त रेग्मी, सुसान भारीले दुई दुई विकेट लिए ।
जवाफमा काठमाडौले १९ ओभर दुई बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । लगातार दोस्रो जित निकाल्ने क्रममा काठमाडौका लागि गौरव तोमरले अर्धसतकीय पारी खेले । पहिलो खेलमा पनि सतक बनाउनबाट चुकेका तोमरले आज पनि ६६ रन बनाए । उनले ४६ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठलले ३५ रन बनाए ।
सुरुवात राम्रो गर्न नसकेको काठमाडौले १४ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर जयकिशन कोल्सावाल मात्र ६ रनमा आउट भए । दोस्रो विकेटका लागि अमित र तोमरले ६२ रनको साझेदारी गर्दै पारी सम्हाले । तर अमीत आउट पछि पनि काठमाडौले ७६ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसका लगत्तै नरेश बुढाऐर पनि आउट हुन पुगे । उनले खाता खोल्न सकेनन । कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा पेभेलियन फर्किदा काठमाडौले ११६ रनमा चौथो विकेट गुमायो ।
बलिङ तर्फ साहव आलमले दुई विकेट लिए ।