पोखरा(कास्की),१२ कार्तिक । पोखरा प्रिमियर लिगमा पारसको कप्तानीमा रहेको चितवनले लगातार दोस्रो हार ब्यहोरेको छ । सोमबार भएको खेलमा घरेलु टिम पोखरा पल्टनसँग चितवन ५ विकेटले पराजित भयो ।
पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४१ रनको लक्ष्य दिएको थियो ।
सुरुवात राम्रो गर्न नसकेको चितवनले १८ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर हरिशंकर शाह ३ रनमा आउट भए ।
त्यसपछि अनिल शाह पनि १६ रनमा पेभेलियन फर्किएपछि चितवनले ५७ रनमा तेस्रो विकेट गुमायो । चौथो विकेटकालागि कप्तान पारस खड्का र सन्नी पटेल विच ५३ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याउने प्रयास गरेका थिए ।
तर पारस ४४ रनमा आउट हुँदा चितवनले १ सय १० रनमा चौथो विकेट खेर फाल्यो । चितवनका लागि सन्नी पटेलले ४६ रन बनाए । बलिङ तर्फ विक्रम भुषालले दुई विकेट लिए ।
जवाफमा पोखराले १७ ओभर २ बलमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । निकै खराव सुरुवात गरेको पोखराले खाता खोल्न नपाउँदै दुई विकेट गुमायो । दुबै ओपनर कुशल भुर्तेल र आशिफ शेख शून्य रनमा नै आउट भए ।
तर शन्नी पटेल र रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै टिमलाई सम्हाले । रोहित १९ रनमा आउट भएपछि पोखराले तेस्रो विकेट खेर फाल्यो ।
त्यसपछि शरद भेषवाकर र रवि इन्दर सिंहले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याए । रविले ६५ रन बनाए भने शरदले ३७ रनको योगदान गरे । अन्तिममा रवि र शरद एकै ओभरमा आउट हुँदा पोखराले १ सय ३५ रनमा ५ विकेट गुमायो ।
प्रतियोगितामा शरदको कप्तानी रहेको पोखराको दोस्रो जित हो । उसको अंक तालिकामा चार अंक भएको छ । प्रतियोगितामा बुटवल र काठमाडौको चार चार अंक रहेको छ ।


















