तेहरान(इरान),१८ कार्तिक(बीबीसी)। इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफैले आफ्नो देशको प्रतिष्ठामा ‘दाग लगाउने’ काम तथा स्वतन्त्र प्रजातन्त्रिक मान्यताको अपमान गरेको आरोप लगाएका छन्।
अमेरिकाले इरानका मुख्य तेल तथा वित्तीय क्षेत्रहरूमा पुनः प्रतिबन्धहरू लगाउनु दुई दिन अघि खामेनीले ट्रम्पको आलोचना गर्दै त्यस्तो बताएका हुन्।
तेहरानमा विद्यार्थीहरूको एउटा भेलालाई सम्बोधन गर्दै खामेनीले अमेरिका इरानको शक्ति र इच्छाको विरुद्धमा रहेको बताए।
ट्रम्प प्रशासनले सन् २०१५ मा भएको परमाणु सम्झौतापछि फुकुवा गरिएका सबै अमेरिकी प्रतिबन्धहरू इरान विरुद्ध सोमबारबाट पुन: लागू गर्दैछ।
रुसले, इरानी तेलको बिक्रीलाई सीमित तुल्याउने अमेरिकी प्रयासहरूका विरुद्ध लड्न सघाउने वाचा गरेको छ।
‘अहिलेसम्मै कडा प्रतिबन्ध’
त्यस्तो कदमलाई ह्वाइट हाउसले, अहिलेसम्म लगाइएका सबैभन्दा कडा प्रतिबन्धहरू भनेको छ।
ती प्रतिबन्धहरू इरान तथा इरानसँग व्यापार गर्ने देशहरूप्रति लक्षित छन्।

तर इरानबाट तेल आयात गर्ने आठवटा देशहरूलाई केही समयका लागि तेल आयात गर्ने दिइने बताइएको छ।
जर्मनी अनि पाँच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्यहरू अमेरिका, ब्रिटेन, फ्रान्स, चीन र रुसले सन् २०१५ मा इरानसँग सो सम्झौता गरेका थिए।
सो परमाणु सम्झौताअन्तर्गत तेहरानले उसको पारमाणविक कार्यक्रम सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो र बदलामा उसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू खुकुलो पारिएका थिए।
संरक्षण
यूरोपेली संघ- ईयू राष्ट्रहरूले परमाणु सम्झौताप्रति समर्थन गर्दै इरानसँग वैध व्यापार गर्ने ईयू कम्पनीहरूलाई संरक्षण दिइने बताएका छन्।
गत मे महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले सो सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरेका थिए।
इरानले बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमको विकास गर्ने कार्य नरोकेको र छिमेकी देशहरूको मामिलामा पनि हस्तक्षेप गरेको आरोप ट्रम्पले लगाउने गरेका छन्।
अमेरिकाले क्रमिक रुपमा इरानमाथि प्रतिबन्धहरू लगाउँदै आएको थियो तर पछिल्लो अमेरिकी कदम इरानको अर्थतन्त्रको महत्तवपूर्ण क्षेत्रहरूलाई लक्षित गर्ने खालको भएको विश्लेषकहरू बताउँछन्।








