Prakash Adhikari November 15, 2018

 

लण्डन,(संयुक्त अधिराज्य),२८ कार्तिक ।परराष्ट्र सचिव शंकरदास वैरागीले बेलायतका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

नेपाली दूतावास, बेलायत र ब्रिटेन–नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी)को आयोजनामा लण्डनस्थित दूतावासभवनमा भएको व्यापार र लगानीसम्बन्धी विकास सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्र सचिव वैरागीले भारत र चीनजस्ता दुई ठूला र विश्वमै सर्वाधिक जनसंख्या रहेका मुलुकहरुबीच रहेको नेपाल लगानीकालागि उपयुक्त स्थल रहेको बताउनुभयो।

उहाँले नेपालमा प्रत्यक्ष बैदेशिक लगानी अभिवृद्धि गर्न राजनीतिक सहमति बनीसकेकोले ब्रिटिश व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान पनि गर्नुभयो।

कार्यक्रममा बोल्दै लर्ड अर्ल अफ स्यान्डवीचले नेपालमा जलविद्युत, साना तथा मझौला व्यवसाय, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा लगानीको राम्रो अवसर रहेको बताउनुभयो। त्यस्तै अर्का वक्ता लर्ड शेखले नेपालमा जलविदयुत, सडक, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा धेरै ब्रिटिश कंपनीहरुले लगानी गरुन् भन्ने आफूले चाहेको र त्यसकालागि ब्रिटिश सरकारले सघाउनुपर्ने सुझाव दिनुभएको थियो।

सम्मेलनलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीले नयाँ संविधानपछि नेपालमा स्थिर सरकार बनेकाले लगानीका लागि यो उपयुक्त समय भएको बताउनुभयो। त्यस्तै नेपालका लागि ब्रिटिश राजदूत रिचार्ड मोरिसले बेलायत युरोपेली संघबाट बाहिरिएपछि पनि नेपालसंगको व्यापारमा कुनै असर नपर्ने बताउनुभयो। उहाँले नेपालसंग दोहोरो कर हटाउने सन्धी गर्नेबारे गृहकार्य भैरहेको जानकारी पनि दिनुभयो।

कार्यक्रममा बेलायतमा अध्ययनरत रामहरि पौड्यालले नेपालको उर्जा क्षेत्रमा वैदेशिक लगानीको संभावनाबारे र ब्रिटेनको डिपार्टमेन्ट अफ इन्टरन्याशनल डिपार्टमेन्टमा कार्यरत भेरिटी म्याक्रमले आफ्नो मन्त्रालयले नेपालमा पुराइरहेको सहयोगबारे जानकारी दिनुभएको थियो।

यसैगरी नेपालमा वैदेशिक लगानीका संभावना विषयमा प्रस्तुति दिंदै ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजन कँडेलले नेपाल विदेशी लगानीका लागि खुला रहेको बताउनुभयो। उहाँले ब्रिटिश लगानीकर्ताहरुलाई सघाउन च्याम्बर सँधै तयार रहेको उल्लेख गर्नुभयो।

Share Now

Leave a comment.