Prakash Adhikari November 23, 2018

काठमाडौं,७ मंसिर(बीबीसी) । रामजानकी विवाह महोत्सवमा सहभागी हुन भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ अर्को हप्ता नेपाल आउने निश्चित भएको छ।

तर नेपालमा हिन्दूराज्य र राजतन्त्र पुनर्स्थापना हुनुपर्छ भन्नेहरूसँग निकटता भएको भन्ठानिएका व्यक्तिलाई निम्त्याएको र त्यसबाट नेपालको राजनीतिमा दूरगामी प्रभाव पर्न सक्ने भन्दै सङ्घीय र प्रादेशिक सरकारको आलोचना भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले सार्वजनिक रूपमै योगीको भ्रमणको उद्देश्य प्रति प्रश्न उठाउँदै आपत्ति प्रकट गरेका छन्।

योगीको विवादास्पद राजनीतिक पृष्ठभूमिप्रति लक्ष्य गर्दै उनले सङ्घीय सरकारले योगीलाई किन आमन्त्रण गरेको भनेर स्पष्टीकरण खोजेका छन्।

निधि भन्छन्, “योगी नेपालमा हिन्दू राज्य र राजतन्त्र पुनर्बहाली गराउन खोज्ने व्यक्ति हुन्। जसले गर्दा नेपालमा राजनीतिक अस्थिरता ल्याइदिन सक्छ।”

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते जनकपुरस्थित रामजानकी मन्दिरमा आयोजना हुने रामजानकी विवाह महोत्सवमा सहभागी हुन नेपाल आउने भनिएको थियो।

तर मोदी नभएर योगी आउने निश्चित भएको प्रदेश नम्बर २ को सरकारका वरिष्ठ अधिकारीहरूले पुष्टि गरेका छन्।

को हुन् योगी आदित्यनाथ?

योगी आदित्यनाथ गोरखपुरस्थित गोरखनाथ मन्दिरका महन्त र भारतको केन्द्रीय सरकारको सत्तामा रहेको भारतीय जनता पार्टीका नेता हुन्।

उनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्ध रहेको बताइन्छ।

जनकपुरमा मोदी

Image captionगत वैशाखमा जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

योगीलाई भारतमै पनि विवास्पद मानिन्छ। गैरहिन्दूहरूप्रति उनले कठोर धारणा व्यक्त गर्दै आएका छन्।

उनले इलाहाबादको नाम फेरेर पौराणिक नाम प्रयागराज र फैजाबादको अयोध्या राखेका छन्।

पहिला अयोध्याबाट आउने जन्तीको नेतृत्व योगीले नै गर्ने भनिएको भए पनि उनी विमानबाट सोझै आएर सोही दिन फर्किने कार्यक्रम रहेको अधिकारीहरूले जनाएका छन्।

राजनीति के हो?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वैशाख २८ गते जनकपुरधाममा आएका थिए।

उनको सम्मानमा गरिएको नागरिक अभिनन्दनमा मुख्यमन्त्री लालबाबु राउतले व्यक्त गरेको धारणाको सङ्घीय सरकारले आलोचना गरेको थियो।

त्यसपछि दुवै सरकारबीच तिक्तता बढेको थियो।

यो परिप्रेक्ष्यमा र योगी आदित्यनाथको विवादास्पद पृष्ठभूमिका कारण उनको भ्रमणको धार्मिक र सांस्कृतिक उद्देश्य मात्र नभएर राजनीतिक आयाम पनि छ कि भन्ने शङ्का नेता निधिबाहेक अरूले पनि गरेका हुन्।

पूर्वमन्त्री जेपी गुप्ताले पनि योगीको भ्रमणप्रति कटाक्ष गर्दै ट्वीट लेखेका छन्।

योगीले भारतमा अल्पमतमा रहेका धर्मका अनुयायीप्रति विद्वेष फैलाउने गरेको र नेपालमा हिन्दू राजतन्त्र हुनुपर्ने पक्षमा बोल्ने गरेको भन्दै उनीभन्दा उपयुक्त अतिथि नपाएको भन्दै एक जनाले आश्चर्य प्रकट गरेका छन्।

तर जानकीमन्दिरका महन्त रामरोशन दास वैष्णव चाहिँ योगी आदित्यनाथ उत्तरप्रदेशका मुख्यमन्त्री मात्र नभएर धार्मिक व्यक्तित्व पनि भएकाले यो विषयलाई राजनीतिसँग जोड्नु नहुने तर्क गर्छन्।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ भन्छन्, “कुनै देशका अतिथिलाई आमन्त्रण गरी अपमानित गर्ने प्रतिक्रिया या जिम्मेवार नेताहरुबाट आउनु सुखद होइन।”

संघीय सरकारको आमन्त्रणमा आउन लागेका योगीलाई प्रदेश सरकारले स्वागत सम्मान गर्न लागेकाले त्यसप्रति आपत्ति जनाउनु अर्थहीन हुने उनको धारणा छ।

पत्रकार ध्रुवहरि अधिकारीले निधिले योगीको भ्रमणप्रति किन आपत्ति व्यक्त गरेका होलान् भनेर प्रतिप्रश्न गरेका छन्।

धर्को

विवाह महोत्सव किन?

रामायणमा वर्णन गरिएअनुसार त्रेतायुगमा राजा जनककी छोरी सीता अर्थात् जानकीको प्राचीन मिथिला राज्यमा जन्म भएको हो।

उनको विवाह अध्योयाका राजा दशरथका जेठा छोरा रामसँग मंसिर शुक्लपञ्चमीका दिन भएको पौराणिक मान्यता छ।

सोही तिथिका दिन प्रत्येक वर्ष विवाहोत्सव आयोजना हुँदै आएको छ ।राजजानकी विवाह

जनकपुर

विसं २०६१ मा जानकीमन्दिरको आमन्त्रणमा अयोध्याबाट जन्ती आएको थियो।

त्यसपछि अयोध्याबाट प्रत्येक वर्ष जन्ती आउने गरेको छ ।

जानकी मन्दिरमा दर्शन गर्न दिनहुँ ठूलो सङ्ख्यामा मानिसहरू आउने गरेका छन्।

धर्को

के हो रेलसम्बन्धी विवाद?

भारतीय सहयोगमा निर्माण भएको जनकपुरधाम-जयनगर रेलमार्गको उद्घाटन रामजानकी विवाहोत्सवको अवसरमा गरिने अपेक्षा गरिएको थियो।

त्यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएका थिए।

तर उनको भ्रमण रद्द भएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउन लागेका हुन्।जनकपुर रेल

उनी रेलमार्गको उद्घाटनमा सहभागी हुने अनुमान राजनीतिक वृत्तमा गरियो।

नेपाली काङ्ग्रेसका उपसभापतिले पनि त्यसकै आधारमा योगीले रेलवे उद्घाटन गरे त्यो दुर्भाग्यपूर्ण हुने टिप्पणी गरेका हुन्।

उनले पत्रकारहरूलाई ‘राज्यको एउटा मुख्यमन्त्रीलाई ल्याएर मुलुकै दूरगामी प्रभाव पार्ने ठूलो आयोजनाको उद्घाटन गराउन खोजिएको हो भने आपत्तिजनक छ’ भनेका थिए।

तर रेलमार्गको काम पूरा सकिएको भए पनि इन्जिन र बोगीको टुङ्गो नलागेकाले उद्घाटन अहिले नहुने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए।

“विवाहोत्सवको अवसरमा रेलको उद्घाटन हुँदैन्,” उनले भने। रेलको बोगी र ईञ्जिन आउन बाँकी रहेको छ ।

विशेष सुरक्षा

योगी आदित्यनाथको भव्य स्वागतको तयारीमा प्रदेश नम्बर २ को सरकार जुटेको मुख्यमन्त्री लालबाबु राउत बताउँछन्।

उनका अनुसार सङ्घीय सरकारले पनि उनको स्वागत गर्नु उपयुक्त हुनेछ।योगी आदित्यनाथ

मुख्यमन्त्री राउतले योगीसहित अयोध्याबाट जन्तीको रूपमा आउने साधुसन्तहरूको सम्मानमा भण्डारा आयोजना गर्ने भएका छन्।

योगी आदित्यनाथको भ्रमणको तयारीका लागि काठमाण्डूस्थित भारतीय राजदूतावास सक्रिय भएको छ।

जानकी मन्दिरका महन्त, प्रदेश नम्बर २ का मुख्यमन्त्री र अन्य सरोकारवालाहरूसित दूतावासका अधिकारीहरूले छलफल गरेका छन्।

प्रदेश नम्बर २ का प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले विवाह महोत्सवको अवसरमा सुरक्षा व्यवस्था हुने भए पनि उत्तर प्रदेशका मुख्यमन्त्रीको आगमन हुने भएपछि त्यसलाई झन् सुदृढ बनाउन लागिएको बताए।

उनले भने, “भारतीय सुरक्षा अधिकारीहरूसित सुरक्षा संवेदनशीलताको विषयमा छलफल चलिरहेको छ। सुरक्षाको विशेष व्यवस्था हुनेछ।”

Share Now

Leave a comment.