
कराँची(पाकिस्तान),७ मंसिर(बीबीसी) । पाकिस्तानको कराचीस्थित चिनियाँ वाणिज्यदूतको कार्यालयमा एउटा सशस्त्र समूहले गोली हान्दा कम्तीमा चार जनाको मृत्यु भएको छ।
स्थानीय समयानुसार बिहान ९:३० बजे त्यहाँ आक्रमण भएको हो। प्रहरीले तीन आक्रमणकारीहरूलाई मारिदिएको छ।
पश्चिमी पाकिस्तानमा चीनको लगानीको विरोध गर्ने पृथक्तावादी लडाकुहरूले सो घटना आफूले गराएको दाबी गरेका छन्।
शुक्रवार नै पश्चिमोत्तर पाकिस्तानमा भएको अर्को बम आक्रमणमा २० जनाको ज्यान गएको छ।
शिया समुदायको बाहुल्य रहेको ओराक्जाई जिल्लामा मोटरसाइकलमा आएका एक आत्मघाती आक्रमणकारीले भिडभाड भएको बजारमा विस्फोट गराएको बताइएको छ।
पाकिस्तानमा सुन्नी अतिवादीहरूले अल्पमतमा रहेका शिया मुसलमानहरूलाई आक्रमण गर्ने गरेका छन्।
कराचीमा के भयो?
प्राप्त विवरणहरूका अनुसार तीन बन्दुकधारीहरूले चीनको वाणिज्यदूतावासमा प्रवेश गर्न खोजेका थिए। तर उनीहरूलाई सुरक्षाकर्मीले रोकिदिए।
आक्रमणमा दुई प्रहरीहरू मारिए।
प्रत्यक्षदर्शीहरूले त्यहाँ विस्फोट भएको बताएका छन्। स्थानीय टीभी च्यानलहरूले धुँवाको मुस्लो उडेको दृश्य प्रसारण गरेका थिए।
सो क्षेत्रमा अरूलाई प्रवेश दिइएको छैन र त्यहाँ ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ।
चीनले आफ्नो दूतावासमा भएका सबै कर्मचारी सुरक्षित रहेको जनाएको छ।
बेइजिङस्थित विदेश मन्त्रालयले पाकिस्तानमा चिनियाँ नागरिकको सुरक्षाका लागि थप उपाय अपनाउन आग्रह गरेको छ।
विदेश मन्त्रालयका एक प्रवक्ताले पाकिस्तानी प्रहरीको मृत्यु भएकोमा शोक प्रकट गरेका छन्।
बलोचिस्तान लिबरेशन आर्मीले कराची आक्रमणको जिम्मा लिएको छ।
सो समूह अशान्त बलोचिस्तान प्रान्तमा सक्रियमध्ये एउटा पृथक्तावादी समूह हो। सो प्रान्तमा लामो समयदेखि मुक्तिका लागि भनेर विद्रोह हुँदै आएको छ।
सो समूहका एक प्रवक्ताले समाचार संस्था एफएफपीलाई भने, “हामीले चिनियाँहरूलाई पाकिस्तानी फौजलाई जस्तै दमनकारी मानेका छौँ।”
बलोचिस्तानमा केही वर्षदेखि लडाकुहरूले विकासनिर्माण परियोजना र चिनियाँ कामदारलाई बारम्बार आक्रमण गर्दै आएका छन्।
तर यो अहिलेसम्म गरिएका आक्रमणमध्ये ठूलो हो।
चीनले बलोचिस्तानमा के गर्दैछ?
बलोचिस्तान चीनको महत्त्वाकाङ्क्षी परियोजना चीन-पाकिस्तान आर्थिक मार्ग (सीपीईसी) को मुटुमै पर्छ।
त्यहाँ चीनले भौतिक पूर्वाधार निर्माण गर्न ठूलो लगानी गरेको छ।
आफ्नो देशको सिन्जियाङ प्रान्त र बलोचिस्तानस्थित अरब सागरको ग्वादार बन्दरगाह जोड्ने चीनको लक्ष्य रहेको छ।
इस्लामाबादस्थित बीबीसी सम्वाददाता सिकन्दर केर्मानी भन्छन्, “चीन पाकिस्तानको निकट सम्बन्ध भएको साझेदार भएकाले र उसले यो देशमा ठूलो रकम खन्याएकाले (चिनियाँ) लगानीलाई ‘ठूलो परिवर्तन गरिदिने योजना’ का रूपमा चिनाउने अधिकारीहरूलाई यो घटनाले गम्भीर रूपमा चिन्तित बनाइदिएको छ।”
बलोचिस्तानमा ठूलो जनघनत्व छैन। तर त्यहाँ ग्यास र कोइलाको ठूलो भण्डार रहेको छ। त्यहाँ तामाखानी र सुनखानी पनि छन्।
प्राकृतिक स्रोत र खनिज पदार्थसम्पन्न भए पनि बलोचिस्तान आर्थिक रूपमा विपन्न छ।
बलोच राष्ट्रवादीहरूले इस्लामाबादले शोषण गरेको र प्रान्तलाई अधिकार नदिएको आरोप लगाउँदै आएका छन्।