Prakash Adhikari December 3, 2018

 

वार्सा(पोल्याण्ड),१७ मंसिर(बीबीसी) । आइपीसीसी ले तापमान वृद्धिलाई डेढ डिग्री सेल्सियसमा सीमित पार्न सरकारहरूले हरित गृह ग्यास उत्सर्जनलाई सन् २०३० भित्र ४५ प्रतिशतले कटौती गर्नु पर्ने भनेको छ।

संयुक्त राष्ट्रसंघका वातावरणसम्बन्धी प्रमुखले विश्वव्यापी तापमान वृद्धिका कारण मानवजातिले हालसम्मकै सबभन्दा धेरै खतरा सामना गरिरहेको चेतावनी दिएकी छन्

पेट्रिसिया एसपिनोसाले जलवायु परिवर्तनलाई सम्बोधन गर्न पोल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा सो चेतावनी दिएकी हुन्।

उनले भनिन् ‘जलवायु परिवर्तनले विश्वका विभिन्न समुदाय नराम्ररी प्रभावित भएका छन्। प्राकृतिक विपदले जताततै विनाश निम्त्याइरहेको छ। यस्तोमा जलवायु परिवर्तनको प्रभाव कम गर्न हामीले आपतकालीन कदमहरू चाल्न थाल्नु अपरिहार्य भएको छ।’

जलवायु परिवर्तनलाई सीमित पार्न आयोजित महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन तोकिए भन्दा एक दिन अगाडि नै पोल्याण्डमा सुरु भएको छ।

चौबाटोमा पृथ्वी
जलवायु परिवर्तनलाई सीमित पार्ने कार्यमा संलग्न चार वरिष्ठ अधिकारीहरूले पृथ्वी ग्रह चौबाटोमा आइपुगेको पोल्याण्ड सम्मेलनमा बताएका छन्।

एक दुर्लभ कदमको रूपमा हेरिएको उक्त घटनामा राष्ट्रसंघले प्रायोजन गरेको वार्ताटोलीका चार पूर्व प्रमुखहरूले निर्णायक कदमका लागि अपिल गरे।

सन् २०१५ मा प्यारिस सम्झौता भए यता जलवायु परिवर्तनसम्बन्धी सबभन्दा महत्त्वपूर्ण पहलको रूपमा पोल्याण्डको क्याटोभिट्समा आयोजित सम्मेलनलाई लिइएको छ।

प्यारिस सम्झौतामा तोकिएका लक्ष्य भेट्टाउने हो भने संसारले कार्बन उत्सर्जनको मात्रामा व्यापक कटौती गर्नपर्ने विज्ञहरूले औँल्याएका छन्।

तापमान बृद्धि
के हो कोप २४
कोप ट्वेन्टी फोर नामक सो सम्मेलनका वार्ताकारहरू प्रगतिका निम्ति दबाबमा परेकाले निर्धारित समयभन्दा एक दिन अगावै सम्मेलन सुरु भयो।

कन्फरेन्स अफ द पार्टीज वा कोप भनिने यो सम्मेलन गत अक्टोबरमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघको अन्तरसरकारी प्यानेल वा आइपीसीसीले विश्वव्यापी तापमान वृद्धिलाई डेढ डिग्री सेल्सियसमा सीमित पार्नु पर्ने निचोडसहितको रिपोर्ट आएपछिको पहिलो हो।

आइपीसीसीले तापमान वृद्धिलाई डेढ डिग्री सेल्सियसमा सीमित पार्न सरकारहरूले हरित गृह ग्यास उत्सर्जनलाई सन् २०३० भित्र ४५ प्रतिशतले कटौती गर्नु पर्ने भनेको छ।

सो सम्मेलनमा २९ राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्नेछन्। ।

Share Now

Leave a comment.