काठमाडौं, २३ पुस । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का विरुद्ध १८ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले अन्य ब्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको मागदाबी र दशीको रूपमा रु.८९,८९,०००।- नगदै अदालत दाखिला पनि गरेको छ ।
यस अगाडि नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमा आयोगबाट गरिएको अनुसन्धानमा उहाँले सार्वजनिक सेवा प्रवेशगरे पश्चातको समग्र आय र व्ययको विश्लेषण गरिएको थियो ।
अख्तियारले उहाँको आम्दानीतर्फ ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैया ५३ पैसा नियमित आय आर्जन गरेको पाएको थियो । उहाँले खर्च तथा लगानीको अनुसन्धान गर्दा उहाँले पुर्ख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको र २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको भेटियो । खड्काले घरजग्गा,विभिन्न कम्पनीको शेयर खरिद, ऋणको सावाँब्याज भुक्तानीमा , व्यक्तिगत रूपमा दिएको सापटी, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग , छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च , गाडी खरिदमा , विभिन्न बैंकका कार्डःबाट सुपरमार्केटहरूमा खर्च गरिएको समेतका रकम, विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा मौज्दात गरी २५ करोड २८ लाख ५ हजार ९ रुपैया ७६ पैसा वचत,लगानी र खर्च देखिएको छ । उहाँले सार्वजनिक सेवामा प्रवेश गरेदेखि मिति २०६९चैत्र २ सम्ममा विभिन्न शीर्षकमा गरेको खर्च जोड्दा खर्च तथा लगानी २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैया ७६ पैसा भएकोले नियमित र स्वभाविक आय ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैया ५३ घटाउँदा देखिन आउने रु १८ कोड ६६ लाख ५ हजार ६ सय २९ रुपैया २३ पैसा बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नआएकोले त्यसैलाई गैरकानूनी रूपमा आर्जन गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले खड्कालाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज गोपालबहादुर खड्कालाई जम्मा बिगो रु।१८ करोड,६६ लाख ५ हजार ६ सय २९ रुपैया २३ पैसा कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुन र निज गोपालबहादुर खड्का नेपाल सरकारको विशिष्ट श्रेणीको हैसियतको पदबाट अवकाश भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र भ्रष्टाचार गरी गैरकानूनी रूपमा आर्जन गरेको चल अचल सम्पत्तिहरू साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) तथा दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।
अख्तियारले खड्काले आर्जन गरेको गैरकानूनी सम्पत्ति मध्ये जिल्ला तेह्रथुम साबिक जिरीखिम्ती गाविस वडा नं २ घर भई बूढानीलकण्ठ ४ बस्ने कृष्णबहादुर लामाकी छोरी, दिपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बा र निज गोपालबहादुर खड्काले आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाई छिपाई राखेको देखिंदा निजहरूको नाममा रहेको चल अचल सम्पत्ति जफत गर्ने प्रयोजनका लागि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग( तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिने र जफत गर्ने प्रयोजनका लागि मात्र निजहरूलाई प्रतिवादी कायम गरी आरोपपत्र दायर गरेको छ ।
अख्तियारले अमिता लामा सोदेम्बाको नाममा जम्मा रु ७करोड बढीको सम्पत्ति लुकाएको जनाउदै जिल्ला काठमाडौं साबिक विष्णु बूढानीलकण्ठ गाविस ७ ग मा रोडशो रियलस्टेट प्रालिले निर्माण गरेको घर खरिद गर्नको लागि बैना स्वरूप रू. ८९,८९,०००।( भुक्तानी दिएकोमा रोडशो रियलस्टेट प्रा।लि। ले पत्रसहित उक्त रकम बराबरको गुड फर पेमेण्ट चेक आयोगमा दाखिला गरिदिएको हुँदा उक्त चेकको रकम रू। ८९,८९,०००। जफत प्रयोजनका लागि दशीका रुपमा आरोपपत्र साथ सम्मानित अदालत समक्ष दाखिला गरिएको जनाएको छ ।


















