काठमाडौं, २७ पुस । नेपालको दुई दिने भ्रमणमा बुधबार काठमाडौं आइपुग्नुभएका जापानी परराष्ट्रमन्त्री तारो कानेको भ्रमणका अवसरमा नेपाल र जापानबीच हवाई सेवा विस्तार र जापानमा नेपाली कामदार पठाउने विषयमा उल्लेख्य उपलब्धि हासिल भएको छ।
नेपाल भ्रमणमा रहेका जापानी परराष्ट्रमन्त्री तारो कोनो र नेपाली परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीबीच आज भएको द्विपक्षीय छलफलमा यस्तो सहमति भएको हो।
द्धिपक्षीय वार्तापछिको पत्रकार सम्मेलनमा नेपालका परराष्ट्र्मन्त्री प्रदीप ज्ञवालीले जापानमा नेपाली कामदार पठाउने विषयमा दुई देशबीच शीघ्र एमओयुमा हस्ताक्षर गर्ने विषयमा सहमति भएको जानकारी दिनुभएको थियो ।
यसैबीच दुई देशबीच सीधा हवाई सेवालाई सञ्चालन गर्ने विषयमा भएको पुरानो समझदारीलाई संशोधन गर्नेसम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ।
नेपाल र जापानबीच गत असार १४ मा पुनरावलोकन भएको हवाइ सम्झौता बुधबारदेखि लागू भएको छ। दुई परराष्ट्रमन्त्रीबीच कूटनीतिक नोट साटासाटपछि उक्त समझदारी लागू भएको हो। पहिले नै सम्झौता भएपनि मन्त्री आएको समयमा पुनः जोड दिन र सम्झौता अनुरुप कूटनीतिक नोट साटासाट गर्ने कार्यक्रम राखिएको थियो। २५ वर्ष पुरानो हवाइ सम्झौता पुनरावलोकन भएर लागू भएसँगै नेपाल–जापान सीधा हवाइ उडानको बाटो खुलेको छ।
नेपाल र जापानबीच सन् १९९३ मा नै पहिलोपटक यस्तो सम्झौता भएको थियो। अब नेपालले जापानको हानेदा बाहेक जुनसुकै अन्तराष्ट्रिय विमानस्थलमा सहज उडान गर्नसक्छ। पहिले नेपालले ओसाकामा मात्र उडान गर्न पाउने थियो। सम्झौताअनुसार नेपालले जापानमा दैनिक २ उडान गर्नसक्छ। जापान भएर अन्य मुलुक पनि जान पाउने व्यवस्था छ।
नेपालको मागअनुरुप जापानले यो व्यवस्था गरिदिएको हो। तर अमेरिका चाहिँ त्यसरी जान पाइदैन। पछिल्लो समय काठमाडौं जापान सीधा हवाइ सेवा छैन। यसअघि नेपाल एयरलाइन्सले चीनको सांघाईबाट ओसाकामा उडान गरेपनि जहाज अभाव कारण बन्द गरेको थियो। नेपालको ३९ मुलुकसँग हवाइ सम्झौता छ।
द्विपक्षीय छलफल पछि आयोजित पत्रकार सम्मेलनमा जापानमा नेपाली कामदार पठाउने विषयमा दुई देशबीच शीघ्र एमओयुमा हस्ताक्षर गर्ने विषयमा सहमति भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो।
दुई दिने नेपाल भ्रमणमा रहेका जापानी परराष्ट्रमन्त्री र नेपाली समकक्षीबीच भएको वार्तामा नेपालले जापानको संसदबाट हालै पास भएको कामदार भर्ना सम्बन्धी कानुनको स्वागत गर्दै नेपाललाई पनि कामदारको स्रोत देशको रुपमा राखेकोमा धन्यवाद दिएको थियो।
‘हामीले जापानको नयाँ अध्यागमन नीति अनुसार जापानमा कामदार पठाउने विषयमा आपसी धारणा राखेका छौँ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘मैले नेपाललाई स्रोत देशको रुपमा राखेकोमा जापान सरकारलाई धन्यवाद दिए। छिट्टै यससम्बन्धी साझेदारीका लागि एमओयुलाई टुंग्याउने सहमति भएको छ।’
छलफलमा दुबै पक्षबीच आपसी समझदारी, क्षेत्रीय तथा विश्वव्यापि मुद्दाहरुमा फलदायी छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभएको थियो।
त्यस्तै दुई देशबीच द्विपक्षीय परामर्स संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
छलफलका क्रममा नेपालमा जापानी लगानीमा सञ्चालित परियोजनाको विषयमासमेत छलफल भएको थियो। साथै नेपालमा लगानीको वातावरण तथा लगानीका क्षेत्रहरुको विषयमासमेत छलफल भएको थियो ।
त्यस्तै नेपालले मार्चमा आयोजना गर्ने लगानी सम्मेलनमा जापनी लगानीकर्ता र उद्यमीहरुको सहभागिताका विषयमा छलफल भएको छ।
त्यस्तै नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेकोले दुबै देशबीच जापानी पर्यटक भित्राउने विषयमा मिलेर काम गर्ने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो।
वार्ताका क्रममा जापानी परराष्ट्र्मन्त्री तारोकानोले नेपालले इण्डो प्यासेफिक क्षेत्रीय सहयोग समूहमा रहेर सघाओस् भन्ने मनशाय व्यक्त गर्नुभएको थियो ।
यो समूहमा भारत,जापान र अष्ट््रेलिया रहदै आएका छन् ।
एशिया प्यासेफिक क्षेत्रमा चीनको बढ्दो गतिविधिलाई निन्त्रण गर्न अमेरिकाले इण्डोप्यासेफिक क्षेत्रीय सहयोग कार्यक्रमको अवधारणा अगाडि बढाएको छ । परराष्ट्र्मन्त्री प्रदीप ज्ञवालीको केही समय पहिलेको अमेरिका भ्रमणमा पनि अमेरिकी विदेश मन्त्री पम्पियोले खुलेरै यो समूहमा रहेर काम गर्ने प्रस्ताव राख्दै कोरियाली द्धीपसहित यस क्षेत्रको शान्ति र विकासमा नेपालको केन्द्रीय भूमिका रहने बताउनुभएको थियो ।
चीनले अगाडि सारेका बेल्ट एण्ड रोड इनिसिएटिभबाट अमेरिका,भारत लगायतका मुलुकहरु सशंकित रहदै आएका छन् ।
इण्डो प्यासेफिक सहयोग अवधारणा वेल्ट एण्ड रोड इनिसियटिभलाई काउण्टर दिन ल्याइएको पनि बताइदै आएको छ ।
जापानी परराष्ट्र्मन्त्री नेपालको भ्रमण सकेर बिहिबारै फ्रान्स जाने कार्यक्रम रहेको छ ।


















