बैंकक(थाइलैण्ड), ३० पुस । नेपाल थाइल्याण्ड भैरहेको महिला टी–२० स्म्यासमा नेपाली महिला क्रिकेट टीमले लगातार तेस्रो खेल जित्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।
नेपालले समुहको तेस्रो खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

बैंककको टर्डथाई क्रिकेट मैदानमा आयोजित खेलमा टस जितेर फिल्डिड.को निमन्त्रणा पाएको नेपाली टीमसामु युएइले १ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । युएईले २० ओभरको निर्धारित खेलमा ६ विकेट गुमाउदै १ सय ५ रन बनाएको थियो ।
युएईले ३५ रन बनाउदा पहिलो विकेट गुमायो । उनकी ओपनर इशा ओजा २८ रनमा आउट भइन । त्यसपछि नेपालले सुभा बेन्काटारामनलाई २ रनमा मैदान बाहिर पठायो ।
युएईको स्कोर ५२ रन हुँदा तेस्रो विकेट झर्यो । उसकी कभिशा कुमारी ५ रनमा पेभेलियन फर्किइन । बलियो ब्याटिङ गरेको युएईले ९१ रन बनाउँदा चौथो विकेट नेपालले लियो । उसकी चायाँ मुघल ३१ रनमा आउट भइन । त्यसपछि ९५ रन बनाउदा नेपालले युएईको पाँचौ विकेट लियो । सरिता मगरले इसानीलाई मात्र एक रनमा रनआउट गरिन । यस्तै रुवीना क्षेत्रीले हुमीरा तास्निमलाई ३ रनमा आउट गर्दा उसले ९९ रनमा ६ विकेट गुमायो । युएईका लागि चामानी सिनिभिरत्नेले अविजीत २३ रन बनाइन ।

बलिङमा नेपालका लागि सिता रानामगर, सोनु खड्का र करुणा भण्डारीले एक एक विकेट लिइन ।
१ सय ६ रनको लक्ष्य लिएको नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटकालागि ६१ रनको साझेदारी गर्यो । सिता रानामगर ३७ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि डोली भट्ट मात्र ७ रनमा पेभेलियन फर्किदा नेपालको स्कोरबोर्डमा ७० रन थियो । काजल श्रेष्ठपनि २५ रनमा आउट भएपछि नेपालले ८५ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि इन्दु बर्मापनि १३ रनमा एलबीडब्लु धरापमा पर्दा नेपालले ८८ रनमा चौथो विकेट गुमायो । अन्तिममा नेपालका लागि रुवीना क्षेत्रीले नौ र नेरी थापाले ६ रन बनाए ।


















