Prakash Adhikari February 19, 2019

 

लण्डन(संयुक्त अधिराज्य),७ फागुन(बीबीसी) । एलेक्जेन्ड्रा र कोल्डर एउटै आमाका १९ महिनाका जुम्ल्याहा हुन्। तर उनीहरूका बुवा भने एउटै व्यक्ति होइनन्।

एलेक्जेन्ड्राका पिता साइमन हुन् भने उनीसँगै जन्मिएका उनका जुम्ल्याहा भाइकोल्डरका पिता ग्रेएम हुन्।

तर एउटै गर्भबाट एकैचोटि जन्मिएका सन्तानका भिन्नभिन्न पिता हुनु कसरी सम्भव छ?

चार बुवा, तीन देश र दुई सन्तान

पिता बन्ने इच्छा भएका साइमन र ग्रेएम बर्नी-एड्वार्ड्जसमक्ष ठूलो चुनौती थियो।

सरोगेट आमा मेग स्टोनले जन्माएका सन्तानसँग साइमन र ग्रेएम
सरोगेट आमा मेग स्टोनले जन्माएका सन्तानसँग साइमन र ग्रेएम

उनीहरू शरीरबाहिर कृत्रिम परिस्थितिमा इन भिट्रो फर्जिलाइजेशनबाट एउटामात्र भ्रूण गर्भाधान गराउन खोज्ने केही ब्रिटिश जोडीमध्येका हुन्। त्यसरी तयार पारिएको भ्रूण सरोगेट आमा बन्न सहमत भएकी एउटी महिलाको कोखमा प्रत्यारोपण गर्नुपर्ने हुन्थ्यो।

त्यो प्रक्रिया लामो र जटिल थियो। सबैभन्दा पहिला त आफ्नो शुक्राणुबाट गर्भाधान गराउन उनीहरूलाई छुट्टाछुट्टै डिम्ब चाहिएको थियो।

पहिला उनीहरू छुट्टै गर्भबाट दुई बच्चा होऊन् भन्ने चाहन्थे। तर उनीहरूलाई डिम्ब दान दिने महिला खोज्न सघाउने संस्थाले एकैचोटि एउटी सरोगेट आमाको गर्भमा दुईवटा बच्चा हुर्काउन मिल्ने जानकारी दियो।

यूकेमा बस्ने भएपनि साइमन र ग्रेएम त्यसका लागि विदेश गए।

साइमन भन्छन्, “हामीसँग नाम नखुलाइएकी अमेरिकी महिला डिम्बदाताका रूपमा थिइन् किनभने प्रजननसम्बन्धी हाम्रो उपचार लास भेगसमा भएको थियो।”

डिम्बहरू सङ्कलन गरेपछि तिनलाई दुई भागमा विभाजित गरियो अनि एउटा भाग साइमनको शुक्राणु र अर्को भाग ग्रेएमको शुक्राणुबाट निषेचन गरियो।

त्यसपछि विकसित भएका भ्रूणलाई छानेर कम तापक्रममा भण्डारण गरियो। दुई समूहबाट छानेर सबैभन्दा पुष्ट भ्रूणलाई सरोगेट आमाको कोखमा राखियो।

तिनै महिलाले आफ्नो कोखमा ती दुई बच्चालाई क्यानडामा हुर्काइन्।

क्यानडाकी सरोगेट आमा
साइमन

साइमनले अरू सन्तानबारे पनि सोच्न सक्ने जताएका छन्

यसरी एउटी महिलाको डिम्ब र दुई पुरुषका शुक्राणुबाट विकसित भ्रूण अर्की महिला मेग स्टोनको गर्भमा हुर्किएर जुम्ल्याहा बालबालिकाका रूपमा जन्मिए।

साइमन भन्छन्, “हामीले क्यानडा छान्यौँ किनभने हामीलाई त्यहाँको कानुनी संरचना मन पर्‍यो। त्यो यूकेको जस्तै छ, व्यापारजस्तो नभई परोपकारी।”

साइमन र ग्रेएम यूके फर्किएपछि मेगबाट समाचारको प्रतीक्षा गरे।

के गर्भ सफल होला त? यो प्रश्न उनीहरूको मनमा खेलिराख्यो। अन्तत: उनीहरूलाई फोन आयो। उनीहरूले सुखद समाचार पाए।

ग्रेएम भन्छन्, “हाम्रो मनमा धेरै किसिमका भावनाहरू उठे। हामी निकै खुसी भयौँ, एकदमै प्रफुल्लित।”

साइमन र ग्रेएम बच्चा जन्मिने मितिभन्दा छ हप्ताअघि यूकेबाट क्यानडा गए।

उनको कोखबाट आफ्ना सन्तान जन्माइदिने महिलासँग उनीहरू राम्रो सम्बन्ध राख्न प्रतिबद्ध देखिएका छन्। किनभने डिम्ब दिने महिलालाई उनीहरू र उनीहरूका सन्तानले चिन्न सक्ने सम्भावना नै छैन।

अनि के उनीहरू अरू बच्चा पनि चाहन्छन्?

एकएकवटा सन्तान भएका साइमन र ग्रेएम अहिले धेरै प्रसन्न देखिन्छन्।

हाँस्दै साइमन, “कहिल्यै पनि नाइँ चाहिँ भन्नुहुँदैन।”

Share Now

Leave a comment.