
इस्लामावाद(पाकिस्तान),१५ फागुन(बीबीसी) । पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको दाबी गरेको छ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत-पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको दाबी गरेका हुन्।
उनका अनुसार एक भारतीय विमानचालकलाई पक्राउ गरिएको छ।
पाकिस्तानी वायुसेनाले कारबाही गरेपछि एउटा विमान पाकिस्तान प्रशासित कश्मीर र अर्को भारत प्रशासित कश्मीरमा खसेको उनले दाबी गरे।
In response to PAF strikes this morning as released by MoFA, IAF crossed LOC. PAF shot down two Indian aircrafts inside Pakistani airspace. One of the aircraft fell inside AJ&K while other fell inside IOK. One Indian pilot arrested by troops on ground while two in the area.
— DG ISPR (@OfficialDGISPR) February 27, 2019
भारतीय सञ्चारमाध्यमहरूले भारतीय वायुसेनाका ती विमानमा प्राविधिक समस्या भएको र पाकिस्तानले दाबी गरेजस्तो नभएको जनाएका छन्।
तर एउटा पाकिस्तानी लडाकु विमान खसालिदिएको दाबी गरेको भारतीय पक्षले भने पाकिस्तानी दाबीबारे प्रस्ट जबाफ दिएका छैनन्।
कश्मीरमा आत्मघाती विस्फोटन गराउने लडाकु समूह जैश-ए-मोहम्मदको शिविर रहेको भन्दै मङ्गलवार भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो।
सो आक्रमणमा लडाकुहरूको शिविर ध्वस्त भएको र धेरै जना मारिएको भारतको दाबी छ।
फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलवामामा भएको आत्मघाती आक्रमणपछि भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रिएको छ।
भारतीय सुरक्षाकर्मीहरूलाई लक्ष्य गरिएको सो आक्रमणमा पाकिस्तान संलग्न भएको आरोप भारतको छ। तर पाकिस्तानले त्यसको खण्डन गर्ने गरेको छ।
‘प्रत्युत्तर हैन’
यसअघि विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानी वायुसेनाले आफ्नो आकाशभित्रै रहेर भारत-पाकिस्तान नियन्त्रणरेखापारि बम हानेको बताएका थिए।
तर यो भारतले मङ्गलवार गरेको आक्रमणको प्रत्युत्तर नभएको र त्यसैले धनजनको क्षति नहुनेगरी गैरसैनिक क्षेत्रमा कारबाही गरिएको मोहम्मद फैसलले बताए।
समाचारसंस्था पीटीआई र रोयटर्सका अनुसार पाकिस्तानी विमान भारतीय आकाशमा प्रवेश गरेका हुन्।
ती विमानहरू जम्मू-कश्मीरको राजौरी क्षेत्रमा छिरेको बताइएको छ।
पीटीआईका अनुसार भारतीय विमानहरूले पाकिस्तानी विमानहरूलाई भाग्न बाध्य पारिदिएका थिए।
भारतले आफ्नो आकाशमा विमानहरूलाई केही रोक लगाउने घोषणा गरेको छ। कश्मीरको आकाशबाट उड्ने केही उडानहरू स्थगित गरिएका छन्।
मानवीय क्षति
नियन्त्रणरेखाको दुई तर्फ भएका यी हवाई आक्रमणहरू सन् १९७१ को युद्धपछि पहिलो पटक भएका हुन्।
दुईतिरैबाट गोली हानाहान पनि भइरहेको छ।
नियन्त्रणरेखावारिपारि मङ्गलवार भएको गोली हानाहानमा चार पाकिस्तानी गैरसैनिकहरू मारिएका र १० जना घाइते भएका छन्।
भारतपट्टि भने पाँच सैनिकहरू घाइते भएका अधिकारीहरूले बीबीसीलाई बताए।
नियन्त्रणरेखामा भएका विभिन्न स्थानहरूमा विद्यालयहरू बन्द भएका छन् र सर्वसाधारणहरूलाई घर छोडर सुरक्षित स्थानमा जान भनिएको छ।
सन् १९४७ मा विभाजन भएपछि पाकिस्तान र भारतले कश्मीर आफ्नो भएको दाबी गर्दै आएका छन्।
कश्मीर विवादकै कारण दुई देशबीच सन् १९४७ र १९६५ दुईचोटि युद्ध भइसकेको छ।