हैदराबाद(आन्ध्रप्रदेश,भारत), ६ चैत्र । भारत भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिमले पहिलो अभ्यास खेलमा आन्ध्र स्टेट अन्डर १९ क्रिकेट टिमलाई ६२ रनले पराजित गरेको छ। अप्रिल १० देखि २० तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर १९ विश्वकप छनौट प्रतियोगिताको तयारी स्वरूप नेपालको अण्डर १९ क्रिकेट टिम अहिले भारतको आन्ध्र प्रदेशमा गएको छ ।
खेलमा पहिले ब्याटिंग गर्दै नेपालले दिएको २ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा आन्द्राले निर्धारित ५० ओभरको खेलमा ४४.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय १४ रन मात्रै जुटाउन सक्यो।
नेपालको बलिंगमा देब्रे हाते स्पिनर कुशल मल्लले सर्वाधिक ४ विकेट लिए भने पवन सर्राफ र कमल सिंह ऐरीले २ । २ विकेट लिए।
आन्ध्रको ब्याटिंगमा ओपनर हर्षावर्दनले सर्वाधिक ४६ तथा तेजस्वाईले ४३ रनको योगदान दिए।
राम्रो सुरुवात गरेको आन्ध्रको लागि ओपनर हर्षावर्दन र हेमन्त रेड्डीले ८५ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको रुपमा पवन सर्राफले रेड्डीलाई ३८ रनमा आउट गरेपछि आन्द्राले लगातार विकेट गुमाउन पुग्यो।
८५.१ बलमा आन्ध्रले १ सय ३७ रनमा ७ विकेट गुमाउन पुग्यो। ७ विकेट गुमेपछि तेजस्वी र वंैकटशनले ६५ रनको साझेदारी गरे । तेजस्वीलाई कमल सिंह ऐरीले २० रनको स्कोरमा आउट गरेपछि बाँकी विकेट लिन नेपालले धेरै कुर्न परेन। फलस्वरुप ४५.१ ओभरमा आन्द्रा यु १९ टिम २ सय १४ रनमा अल आउट हुन पुग्यो।
चम्किए ,रोहित,सन्दीप र कमल
पहिले ब्याटिंग गरेको नेपालले ५० ओभरको खेलमा ४८ ओभरमा सबै विकेट गुमाउदै २ सय ७६ रनको योगफल तयार गरेको थियो।
कमजोर सुरुवात गरेको नेपालले ४९ रन बनाउदा पहिलो ४ विकेट गुमाउन पुगेको थियो। ओपनर रित गौतम ५ रन, पवन सर्राफ ४ रन, आसिफ शेख ९ रन तथा रवि शाह ५ रनमा पेभिलियन फर्केका थिए ।
पाँचौ विकेटको लागि कप्तान रोहित पौडेल र सन्दीप जोराले शतकीय साझेदारी गर्दै टिमलाई ठूलो योगफलतर्फ डोर्याएका थिए। १ सय ४५ रनको साझेदारी पछि सन्दीप ६९ रन बनाएर आउट हुन पुग्दा टुटेको थियो। उनलेले ६४ बलमा ६ छक्का र २ चौका प्रहार गरे।
त्यसपछि लोकेस बम ५ रन, कुशल मल्ल १७ रन बनाएर आउट हुन पुगे।
त्यसपछि रोहित पनि आठौँ विकेटको रुपमा ८१ रन बनाएर आउट भए। पौडेलले १ सय १६ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
तल्लो क्रममा कमल सिंह ऐरीले आक्रामक इनिंग खेल्दै २५ बलमा ४४ रन बनाउदै टिमको योगफल २५० कटाएका थिए। ऐरीले २ चौका र ५ छक्का प्रहार गरे।
कमलले ४८ औं ओभरमा लगातार ५ छक्का प्रहार गरेका थिए र सोहि ओभरको अन्तिम बलमा विकेट गुमाएका थिए।
आन्ध्रको बलिंगमा तेजस्वीले सर्वाधिक ४ विकेट तथा श्रीकर्साइ रेड्डीले र वैंकटेसले २ । २ विकेट लिए ।
भ्रमण अन्तर्गत नेपालले कुल ४ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।
अभ्यास खेलमा नेपालका तर्फबाट कप्तान रोहित पौडेल , रवि शाह,रित गौतम , पवन सर्राफ, आसिफ शेख,, सन्दीप जोरा , लोकेश बम , कुशल मल्ल , रासिद खान, सागर ढकाल, कमलसिंह ऐरी र प्रतीश जीसीले खेलेका थिए ।