स्पेनमा सत्तारूढ समाजवादी पार्टीले निर्वाचनमा आफू विजयी भएको दाबी गरेको छ। तर देशमा चार वर्षभित्र भएको तेस्रो निर्वाचनमा उसको बहुमत भने पुगेको छैन।
निर्वाचनमा प्रधानमन्त्री पेड्रो सान्चेथको दलले २९ प्रतिशत मत ल्याएको छ। सरकार बनाउन उसलाई वामपन्थी पोडेमोस तथा क्षेत्रीय दलहरूको वा मध्यदक्षिणपन्थी दलको समर्थन आवश्यक पर्दछ।
सन् १९७० मा सैन्य शासन सकिएपछि पहिलो पटक अतिदक्षिणपन्थी दलले पनि संसद्मा प्रवेश पाउने भएको छ।
भोक्स नामक सो दलले बहुसंस्कृति, नारीवाद र अनियन्त्रित आप्रवासनको विरोध गर्छ।
यो निर्वाचनमा गत वर्ष मे महिनामा अविश्वासको मतका कारण सरकारबाट बाहिरिन बाध्य भएको पपुलर पार्टी (पीपी)ले राम्रो परिणाम ल्याउन सकेन।
पहिला १३७ सांसद भएको सो दलले यसपालि ६६ स्थानमा मात्रै जित्यो।

स्पेनको संसद्मा ३५० सदस्य हुन्छन्।
निर्वाचन परिणाम आएपछि भाषण गर्दै प्रधानमन्त्री सान्चेथले असमानतासँग सङ्घर्ष गर्दै सहअस्तित्वतिर जानु तथा भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो दलका लागि ठूला चुनौती हुने बताएका छन्।
उनले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै भने, “भविष्यले जितेको छ र विगतले हारेको छ।”
आफ्नो कार्यकालमा उनले न्यूनतम पारिश्रमिकको विषय उठाएका थिए तथा मन्त्रिपरिषद्मा धेरै महिलालाई नियुक्त गरेका थिए।
उनले स्वीकृतिबिना राखिने यौन सम्बन्धलाई बलात्कारका रूपमा परिभाषित गरिने कानुन ल्याउने वचनबद्धता पनि प्रकट गरेका थिए।

सोशलिस्ट्सका १२३ उम्मेदवार सांसद निर्वाचित भएका छन् भने सो दलको भूतपूर्व साझेदार पोडेमोसबाट ४२ सांसद निर्वाचित भएका छन्।
यो निर्वाचनलाई प्रधानमन्त्री सान्चेथको विजय मानिएको छ। सन् २०१६ को निर्वाचनको तुलनामा उनको नेतृत्वमा सो दलले २३ प्रतिशत स्थान बढाएको छ।
सोशलिस्ट्स र पोडोमस दलको संयुक्त उपलब्धिलाई गणना गर्दा पनि उनीहरूसँग बहुमत पुगेको छैन। आवश्यक १७६ सांसद जुटाउन उनीहरूलाई अन्य ११ जनाको समर्थन चाहिन्छ।
सान्चेथले बास्क राष्ट्रवादी र अन्य साना क्षेत्रीय दलको समर्थन जुटाउन त सक्छन् तर उनलाई क्याटलान क्षेत्रमा स्वतन्त्रता खोज्ने दलहरूको सहयोग पनि चाहिन सक्छ।

भोक्स दलका समर्थक
गत महिना ती दलले सरकारबाट समर्थन फिर्ता लिएपछि यो निर्वाचन भएको हो।
मध्यवामपन्थी दल क्याटलान ईआरसी क्याटलोनियाले सबैभन्दा ठूलो विजय हात पारेको छ। उसले १५ स्थान जितेको छ।
सो दलका नेता ओरिओल हुन्केरास कारगारमा छन्। सन् २०१७ अक्टोबरमा स्वतन्त्रता घोषणा गर्दा उनको भूमिकाका कारण हुन्केरासलाई मुद्दा चलाइएको छ।
उनले ट्वीटमार्फत् आफ्ना लाखौँ समर्थकलाई धन्यवाद दिएका छन्।
1.000.000 de gràcies!
— Oriol Junqueras 🎗️ (@junqueras) April 28, 2019
Elles ja han votat, voteu, voteu i voteu! Els nostres drets es defensen sempre i a tot arreu!#VotoLlibertat pic.twitter.com/2BpHVV6FQa
— Oriol Junqueras 🎗️ (@junqueras) April 28, 2019
पीपीको हारको अर्थ उसले अरू दलसँग मिलेर गठबन्धन बनाउन सक्दैन। सो दलका देता पाब्लो कासाडोले आफू प्रमुख प्रतिपक्षी हुने बताएका छन्।
यो निर्वाचनममा झन्डै ७६ प्रतिशत मतदान भएको थियो।
यसपालि सन् २०१६ मा भएको निर्वाचनमा भन्दा नौ प्रतिशत बढी मतदान भएको थियो।
क्याटलोनिया किन महत्त्वपूर्ण?
यो निर्वाचनको एउटा प्रमुख विषय स्पेनको पूर्वोत्तर भाग क्याटलोनियाको स्वतन्त्रतासँग सम्बन्धित थियो।
अर्धस्वायत्त सो क्षेत्रले सन् २०१७ को अक्टोबरमा जनमतसङ्ग्रह गरेर स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो।

मड्रिडले सो क्षेत्रका झन्डै एक दर्जन नेताहरूलाई विद्रोह र राजद्रोहको मुद्दा चलाएको छ।
तीमध्ये ईआरसीका नेता हुन्केरास पनि हुन्। पक्राउ पर्दा उनी क्याटलानका उपराष्ट्रपति थिए।
गत सोमवार चुनावी बहसका क्रममा पीपी तथा सिउडडानोस दलका नेताहरूले प्रधानमन्त्री सान्चेथलाई “स्पेनका शत्रुहरू”सँग मिलेको र स्पेनलाई “विघटन” गर्न खोजेको आरोप लगाएका थिए।
विश्लेषकहरूका अनुसार क्याटलानको स्वतन्त्रता अभियानका कारण व्याप्त आक्रोशले गर्दा अतिदक्षिणपन्थी दल भोक्सले समर्थन पाएको देखिएको छ।
सो दलले पृथक्तावादीहरूलाई छुट दिनु नहुने धारणा राख्छ।


















