
सानेपा(ललितपुर),२९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक पत्रकारमाथिको ‘कू’ भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय वीपी नगर सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनलाई संबोधन गर्दै उहाँले भन्नुभयो,वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हस्तक्षेप गर्ने र पत्रकारहरुको अधिकार खोस्ने मिडिया विधेयक कांग्रेसलाई स्वीकार्य हुँदैन।
‘यो विधेयक यथावस्थामा पास भयो भने स्वतन्त्र पत्रकारितामाथिको ‘कू’ हुनेछ भन्दै कांग्रेस सभापतिले भन्नुभयो, ‘अधिकार खोस्ने विधेयक अहिले किन ल्याउनुपर्यो ?’
मन्त्रिपरिषदबाट पारित मिडिया काउन्सिल विधेयक सरकारले बिहीबार संसदमा दर्ता गरेपछि नेपाल पत्रकार महासंघले विरोध गर्दै आन्दोलन घोषणा गरेको छ।
सम्मेलनमा कांग्रेसले संविधानको मर्म र भावनाअनुसार नै विधेयक ल्याउन माग सुझाव दिंदै प्रेस तथा सञ्चारको स्वतन्त्रताप्रति कांग्रेस गम्भीर भएको सभापति देउवाले दावी गर्नुभयो । सात दशकको बलिदानपूर्ण संघर्षले हासिल गरेको स्वतन्त्रता रक्षाका लागि कांग्रेस लड्न तयार रहेको पनि उहाँले बताउनुभयो ।
उहाँले अधिनायकवादीहरुले प्रेसमाथि अंकुश लगाएर शासन चलाउने उल्लेख गर्दै भन्नुभयो,जव नियन्त्रित ढंगले प्रेस सञ्चालन हुन्छ, समाजमा के भएको छ कसलाई थाहा हुन्छ ? स्वतन्त्र,निश्पक्ष र तटस्थ प्रेस बहुलवादी समाज र लोकतान्त्रिक शासन व्यवस्थाको अभिन्न अंग भएको बताउदै प्रेसको स्वतन्त्रता नियन्त्रण गर्न नदिइने पनि स्पष्ट गर्नुभयो ।
चौथो अंगमाथि नियन्त्रण गरेपछि न्यायालय र व्यवस्थापिकामा पनि नियन्त्रण हुने आशंका व्यक्त गर्दै पूर्व प्रधानमन्त्री देउवाले कम्युनिष्ट शासन आए देशमा रुन पनि नपाइने भनेको कुरा घटनाक्रमले क्रमशः पुष्टि हुँदै गएको पनि दोहोर्याउनु भयो ।
सदनमा दर्ता भएको विधेयकमा समाचारले कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिए पत्रकारलाई १० लाखसम्म जरिवाना भराउन सकिने उल्लेख छ।