काठमाडौं, १ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतले ७८ लाख रुपैयाको बैंक ग्यारेन्टी बुझाएर रिहा हुनुभएको छ ।
गत चैत १२ गतेदेखि फरार रहेका पाठक बुधबार बिहान विशेष अदालतमा उपस्थित भएर बुधबार दिनभर बयान दिनुभएको थियो।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले बयान लिइसकेपछि भएको थुनछेक बहसपछि पाठकसँग ७८ लाख धरौटी माग गरिएको थियो ।
पाठकले नेपाल(बंगलादेश बैंकबाट ग्यारेन्टी ल्याएर बुझाए पछि थुनछेकबाट रिहाई पाउनु भएको थियो ।
भक्तपुरमा रहेको सामुदायिक प्रकृतिको नेपाल इन्जिनियरिङ कलेजलाई निजीमा परिणत गर्ने कार्यमा सघाउने नाममा उहाले संचालक लम्बोदर न्यौपानेसंग ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि उहाँले फागुन ३ गते पदबाट राजीनामा दिनुभएको थियो।
उहाँलाई आफै आयुक्त रहिसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चैत १२ गते काठमाडौं विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
विशेष अदालतमा पाठकविरुद्ध बुझाएको अभियोगपत्रमा घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको थियो। लम्बोदर अझै फरार रहेको बुझिएको छ ।








