जावलाखेल(ललितपुर), २ असार । नेपाल धितोपत्र बोर्डले प्रदेश नं. १ को राजधानी विराटनगरमा पत्रकार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बोर्डले आर्थिक वर्ष २०७५ । ७६ को नीति तथा कार्यक्रममा पूँजी बजारको बारेमा जनचेतना अभिबृद्धि गरी यसको दिगो विकास गर्न पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने यथार्थलाई आत्मसात गर्दै हरेक प्रदेशमा पत्रकारहरुका लागि आर्थिक तथा पूँजी बजार प्रशिक्षण दिने कार्यक्रम राखेको थियो । सोही कार्यक्रम अन्तरगत बोर्डले सो कार्यक्रम सञ्चालन गरेको हो ।
प्रशिक्षणमा करिव ८० पत्रकारहरुको सहभागिता रहेको बोर्डले जनाएको छ ।
बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का माननीय आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सर्वसाधारणमा धितोपत्र बजारसम्बन्धी ज्ञान पर्याप्त नरहेको अवस्थामा पत्रकारहरुलाई सूसुचित गर्ने बोर्डको यस पहलको प्रशंसा गर्दै नेपाल सरकारले लिएको सम्बृद्धिको लक्ष्य हासिल गर्न अर्थतन्त्र सुदृढ हुनुपर्ने र सो को लागि धितोपत्र बजारलाई परिपक्व एवं सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले २०७५ असोजमा विराटनगरमा आयोजित प्रथम प्रादेशिक पूँजी बजार प्रदर्शनीको स्मरण गर्दै पछिल्लो समय प्रदेश नं. १ मा धितोपत्र बजारसम्बन्धी गतिविधिहरु बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि मोरङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशकुमार के.सी.ले धितोपत्र बजारसम्बन्धी सत्य तथ्य सूचनाहरु सर्वसाधारणसमक्ष प्रवाह गर्नुपर्ने सन्देश दिन बोर्डले आयोजना गरेको पत्रकार प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम सकारात्मक रहेको बताउनुभयो ।
अर्का विशेष अतिथि प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका आर्थिक सल्लाहकार प्रा.डा. प्रमोदकुमार झाले वित्तीय प्रणालीको महत्वपूर्ण अङ्गको रुपमा रहेको धितोपत्र बजारको विकास बिना देशमा औद्योगिक विकास हुन नसक्ने धारणा राख्दै बैंकिङ्ग प्रणाली परिपक्व अवस्थामा पुग्न लागिसकेकोले उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गर्नका लागि धितोपत्र बजारलाई सशक्त माध्यमको रुपमा विकास गर्न बोर्डले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।उहाँले धितोपत्र बजार विकास भई प्रतिफल समाजको तल्लो स्तरसम्म पुगेको अवस्थामा मात्र बजारको वास्तविक विकास हुने बताउँदै नेपालको धितोपत्र बजार अबको दिनमा अन्तर्राष्ट्रिय बजारसँग आबद्ध हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोर्ड अध्यक्ष डा. कार्कीले नेपालको अर्थतन्त्रको बारेमा जानकारी दिदै अर्थतन्त्र र धितोपत्र बजारबीचको सम्बन्धका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृष्यहरु समेटिएको “नेपालको अर्थतन्त्रबारे जानकारी र धितोपत्र बजारसँगको सम्बन्ध” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले एक जना पत्रकारले हजारौं व्यक्तिलाई सूचना प्रवाह गर्ने हुनाले पत्रकारलाई प्रशिक्षण गर्दा लगानीकर्ता सचेतना थप प्रभावकारी हुने देखिएकोले सातै प्रदेशमा पत्रकार प्रशिक्षण कार्यक्रम राखिएको बताउनुभयो ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले प्रशिक्षणको उद्देश्यमाथि प्रकाश पार्नुका साथै धितोपत्र बजारमा सूचनाको संवेदनशीलतामा विशेष ध्यान दिनुपर्ने औल्याउदै तथ्यपरक, विश्लेषात्मक एवं भ्रमरहित सूचना प्रवाहले धितोपत्र बजार स्वच्छ तथा पारदर्शी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
प्रशिक्षणमा बोर्डका उपकार्यकारी निर्देशक रुपेश के.सी. ले नेपालको वित्तीय प्रणाली, धितोपत्र बजार र यसको संरचना, लगानीकर्ता संरक्षणसम्बन्धी व्यवस्था, धितोपत्रको कानूनी व्यवस्था, बजार सहभागी, धितोपत्र बजार सम्बन्धमा लेखन लगायतका विषय समेटिएको “पूँजी बजारका परिचयात्मक तथा आधारभूत पक्षहरु र धितोपत्रसम्बन्धी लेखन” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा “प्रदेशमा धितोपत्र बजार र समाचार सम्प्रेषण” विषयमा समेत कार्यपत्र प्रस्तुत भएको थियो ।
प्रशिक्षणमा सहभागी पत्रकारहरुले उत्पादनशील तथा दूरसञ्चार क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा प्रवेश गराउनुपर्ने, अनलाइन कारोबार प्रणाली सुरु भई प्रशासनिक खर्च कम भैरहेको सन्दर्भमा ब्रोकर कमिशन घट्नुपर्ने, जलविद्युत कम्पनीको प्राथमिक निष्काशन कार्यलाई व्यवस्थित बनाउनुपर्ने, धितोपत्रको दोस्रो बजारमा भैरहेको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको, एकै कम्पनीले छोटो अन्तरालमा हकप्रद निष्कासन गरी लगानीकर्तामा भार थपेको, कमजोर कम्पनीलाई सेयरको निष्कासन अनुमति प्रदान गर्न नहुने, उपत्यकाबाहिर समेत धितोपत्र बजार गतिविधि बढ्दै गएको परिप्रेक्ष्यमा बोर्डको प्रादेशिक कार्यालय शीघ्र स्थापना हुनुपर्ने लगायतका सुझावहरु दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन बोर्डका सहायक निर्देशक रेवत श्रेष्ठले गर्नुभएको थियो ।


















