चैनपुर(बझाड.),२ आषाढ । बझाङ जिल्लामा जीप दुर्घटनामा परेर नौजनाको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।
डुङ्ग्रीबाट कोटदेवल तर्फ जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप सडकबाट करिब ५०० मिटर तल झरेको घटनास्थलबाट प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीले बताए।
“दुर्घटनास्थल विकट ठाउँमा भएकाले उद्धार कार्य प्रभावित भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरू उद्धार कार्यमा खटिएका छन्,” केसीले भने।
जिल्ला अस्पताल बझाङमा घाइते हुनेहरूका आफन्त जम्मा भएका छन् ।
प्रतिकूल मौसमका बीच घाइतेहरूलाई हेलिकप्टरमा राखेर नेपालगन्जतर्फ लगिएको उनले बताए।
“हावाहुरीसहित पानी परिरहेको छ, जसका कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भएको छ,” उनले भने।
घाइतेहरूलाई उद्धार गर्ने कार्य प्राथमिकतामा रहेकाले मृतकको सनाखत हुन नसकेको अधिकारीहरूले बताएका छन्।
(बीबीसीबाट)


















