Prakash Adhikari July 8, 2019

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ भवन शिलान्यास भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले भवन शिलान्यास गर्नुभएको हो ।

सो आधुनिक सुविधायुक्त तर परम्परागत आवरणको भवनको आगामी ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
भवन शिलान्यासका क्रममा राष्ट्रपति भण्डारीले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले जवाफदेही पनि हुनुपर्ने भएकाले त्यसतर्फ पनि राष्ट्र बैंकले ध्यान दिनुपर्ने बताउनुभयो । बैंकले आफू र आफ्नो मातहतको वित्तीय प्रणालीलाई पनि व्यवस्थित गर्नुपर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुक आर्थिक पुनर्निर्माणमा पनि जुटेकाले आर्थिक वृद्धिसहितको विकासमा लागेको बताउनुभयो ।बैंकले लगानीमा वृद्धि गर्न मात्रै नभई लगानीको प्रतिफलमा पनि ध्यान दिनुपर्ने भएकाले  उचित ढंगबाट व्यवस्थापन गर्न उहाँले  राष्ट्र  बैंकलाई सुझाव दिनुभयो ।

अर्थमन्त्री डा युवराज खतिवडाले लगानीको वातावरणका लागि सरकारले काम गरिरहेको भन्दै मुलुकलाई विद्युतीय बैंकिङ कारोबारयुक्त बनाउन अग्रसर हुन आग्रह गर्नुभयो। उहाँले वित्तीय स्थायित्वको चरणमा मुलुक पुगेकाले मूल्यवृद्धि र व्यापार घाटा घटाउन तथा लगानीको प्रतिफल ल्याउन बैंकले प्रभावकारी भूमिका खेल्न सक्ने बताउनुभयो ।उहाँले नेपाल बैंक र बाणिज्य बैंकको सुधार पछि नेपालको बैकिंग क्षेत्र स्वस्थ्य अवस्थामा रहेको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले २०७६ साल असार २२ सम्म देशका ७ सय ३० स्थानीय निकायमा बैंकिड. सेवा सञ्चालन भैरहेको बताउनुभयो। उहाँले विनाशकारी भूकम्पबाट बालुवारटारस्थित केन्द्रीय कार्यालय, थापाथलीस्थित कार्यालयलगायत प्रभावित भए पनि भूकम्प गएको दोस्रो दिनदेखि सेवालाई निरन्तरता दिएको बनाउनुभयो । गर्भनर डा. नेपालले राष्ट्र बैंकले वित्तीय क्षमताको विकास गर्दै सबै नेपालीको बैंक खाता अभियान सफल बनाउन काम गरिरहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुनःनिर्माणले पछिल्लो समयमा गति लिएको उल्लेख गर्दै नेपालले पुनःनिर्माणका क्षेत्रमा प्राप्त गरेका उपलब्धि र अनुभव भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कूल २ अर्ब ८ करोड रुपैयाँको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैंकले जनाएको छ । नयाँ भवन आगामी २०७८ भदौ सम्ममा सम्पन्न गर्ने गरी पुनर्निर्माण प्राधिकरणसँगको सम्झौतामा आफ्नै लगानीमा बनाउन लागिएको हो ।

भवनको निर्माण जिम्मा सिंगे सिमानान्तर जेबी कम्पनीले पाएको छ ।

 

 

 

Share Now

Leave a comment.