सानेपा(ललितपुर),२९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले गत बिहिबारदेखि परेको अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिलाई मध्यनजर राखी जारी बैठक केही दिनका लागि स्थगित गरेर उद्धार र राहतको कार्यमा समर्पित हुने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको आषाढ २७ गते बसेको बैठकले २४ घण्टा परेको अविरल बर्षाले मुलुकभरिमा कतिपय नागरिकको घरखेत नष्ट भएको, विभिन्न स्थानमा मूख्य राजमार्ग अवरोध भएको, आम जनजीवन अस्तव्यस्त भएको तथा कैयौं नागरिकको जीउ–धन र भौतिक पूर्वाधार समेत जोखिममा परेको गम्भीर परिस्थितिलाई ध्यानमा राखी कार्यकर्ता र पार्टी पडि.तलाई आवश्यक उद्धारका कार्यमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएको थियो ।
कांग्रेसले नेपाल सरकारलाई सम्बन्धित प्रदेश र स्थानीय तहका सरकारहरुको समन्वय र सहयोगमा उद्धार र राहतको कार्य प्रभावकारी रुपमा युद्धस्तरमा गर्न पनि माग गरेको थियो । कांग्रेसले प्राकृतिक विपतको घडीमा आम नेपाली नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दै एकजुट भई विपत व्यवस्थापनमा जुट्न अपिल गरेको थियो ।
बाढी र पहिरोमा परी जीवन गुमाउनु हुने दिनीबहिनी–दाजुभाइको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना पनि दिएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गर्नुभएको विज्ञप्ति अनुसार उद्धार र राहतको अभियानमा सकेर केन्द्रीय कार्यसमितिको बैठक स्थगित बैठक श्रावण ७ गते दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्नेछ ।
नेपाली कांग्रेसको आइतबारको बैठकमा आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के.सी. बलबहादुर के.सी., महेश आचार्य, बालकृष्ण खाँण, रमेश रिजाल, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, उमाकान्त चौधरी, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, बीरबहादुर बलायर, रमेश लेखक, बहादुरसिंह (लामा) तामाङ, शिवप्रसाद हुमागाँइ, केन्द्रीय आमन्त्रित सदस्यहरु— किरणराज शर्मा पौडेल र रमा कोइराला पौडेलले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो । शुक्रबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा. रामशरण महत, नरहरि आचार्य, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, डा. शेखर कोइराला, नविन्द्रराज जोशी, रत्न शेरचन, शंकर भण्डारी, किशोरसिंह राठौर, गगनकुमार थापा, जीवन परियार, किरण यादव, सरिता प्रसाई, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न बैठकमा देशमा आएको बाढी र पहिरोको साथै नेपाली कांग्रेसको नियमावली, २०७६’ का सन्दर्भमा छलफल केन्द्रित रहेको थियो ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा असार २२ गते प्रस्तुत पार्टीको संशोधित नियमावलीको मस्यौदा उपर साथीहरुसँग आवश्यक सल्लाह गरी प्राप्त सुझावहरुलाई समाहित गर्दै मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने सर्वसम्मति निर्णय गरेको छ ।
काग्रेस केन्द्रीय समितिले नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति, पूर्व सांसद एवं महाधिवेशन प्रतिनिधि ७२ वर्षीय रूद्रमणि शर्मा भण्डारी, गुल्मीका पूर्व महासमिति सदस्य ७९ वर्षीय खड्गबहादुर खत्री, पर्वतका पूर्व सचिव ६५ वर्षीय सोमलाल आचार्य, बाराका पूर्व महासमिति सदस्य ६५ वर्षीय रामवावु चौधरी, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका वरिष्ठ कार्यालय सहायक सुदर्शन मेहर कायस्थ, केन्द्रीय कार्यसमितिका सदस्य चिनकाजी श्रेष्ठको पिता एवं पूर्व गाउँ सभापति पुण्यप्रसाद श्रेष्ठ, पार्टीका आमन्त्रित केन्द्रीय सदस्य आनन्द (गोरख) विष्टकी ममतामयी माता ९० वर्षीय कमलादेवी विष्ट, धापासीका पूर्व गा.वि.स. अध्यक्ष गोपालकृष्ण आले, रुपन्देहीका पूर्व जिल्ला सदस्य ७० वषीय भाष्कर शर्मा ढकाल र धादिङ जिल्ला कार्यसमितिका पूर्व सदस्य राम तामाङ्गको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गरेको छ ।


















