Prakash Adhikari January 8, 2018

काठमाडौं, २४ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयलाई लिएर सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गर्नुभएको छ ।

प्रदेश सभाको निर्वाचन सम्पन्न भएको एक महिना वितिसकेको र प्रत्यक्ष तर्फको परिणाम आई समानुपातिक तर्फको सूची समेत दलहरुले सच्च्याएर निर्वाचन आयोगलाई बुझाएको परिस्थितिमा प्रदेश सरकारको गठन र प्रदेश सभा सञ्चालनको लागि प्रदेश प्रमुखको नियुक्ति अपरिहार्य भएकोले सोको नियुक्तिको लागि परामर्श गर्न प्रधानमन्त्री देउवा राष्ट््रप्रमुखसमक्ष पुगेका थिए ।

राष्ट्र्पति भण्डारीले प्रदेश प्रमुखसंगै प्रदेशहरुको अस्थायी राजधानी समेत तोक्नका लागि प्रधानमन्त्रीलाई सुझाव दिएकी थिइन ।

शुरुमा सरकार प्रदेश प्रमुख र अस्थायी राजधानी एकसाथ तोक्ने तयारीमा थियो ।
तर प्रधानमन्त्रीले केहीदिन पहिले आयोजना गरेको सर्वदलीय बैठकमा नेकपा एमाले र बामगठबन्धनका नेताहरुले यसमा सहमति नदिई यो कार्य सरकारको भएको भनेर पन्छिएपछि सरकारले अस्थायी राजधानी तोकेर स्थानीयका बीचमा द्धन्द्ध नबढाउने मनशायले प्रदेश प्रमुख मात्र तोक्ने तयारी गरेको थियो ।

प्रदेशको राजधानी नतोकी प्रदेश प्रमुख मात्र नियुक्ति गर्दा संविधानको मर्म र भावनाको सम्मान नहुने र प्रदेश सरकारमा मन्त्रीहरु र सांसदहरु काठमाडौंमै बस्नुपर्ने नियति आउने भएकोले सरकारलाई मुटु दह्रो पारेर प्रदेशको अस्थायी राजधानी तोक्न प्रशासन विद्हरुले सुझाव दिएका छन् ।

राष्ट्रपतिले सरोकारवालापक्षसंग परामर्श गरेर अस्थायी मुकाम तोकेर अघि बढ्न राम्रो हुने सुझाव दिएको उनका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

भेटमा प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर १ नं प्रदेशमा इटहरी, धनकुटा र विराटगर, २ नं प्रदेशमा वीरगञ्ज, ३ नं प्रदेशमा काभ्रे, ५ नं प्रदेशमा बुटबल , ६ नं प्रदेशमा जुम्ला र ७ नं प्रदेशमा डोटीमा आन्दोलन चलेको छ ।

भोली मुलुक हाँक्ने दावी गर्ने बाम गठबन्धनका नेताहरु समेत अस्थायी राजधानी तोकेर विवादमा पर्न चाहेका छैनन ।

Share Now

Leave a comment.