Prakash Adhikari January 8, 2018

काठमाडौं,२४ पौष । शीतलहरको मारमा परेका तराईका २२ जिल्लाका पीडितहरुलाई सरकारले राहत प्याकेज घोषणा गरेको छ । गृहमन्त्रालयले बढ्दो चिसोबाट सर्वसाधरणलाई जोगाउन२ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय भएको जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले सोमबार उक्त निर्णय गरेको हो । उक्त रकमबाट एक जिल्लामा १० लाख रुपैयाँको कम्मल तथा न्याना लुगाफाटा र दाउरा लगायतका सामाग्री वितरण गर्ने सरकारी तयारी रहेको छ ।

गृहले सोमबार नै सरकारको मौजदातमा रहेका कम्मल लगायतका समाग्रीहरु पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ ।

‘प्रधानमन्त्रीको निर्देशनमा तराईमा २२ जिल्लामा तत्काल २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय भएको छ’ गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘राहत वितरणको कार्य आजैदेखि सुरु हुन्छ, केन्द्रबाट कम्मल लगायतका सामाग्री जाने क्रम सुरु भइसकेको छ ।’

गृहले जिल्लास्थित स्थानीय विपत् व्यवस्थापन समितिको सिफारिसमा राहत वितरण गर्नेछ । केन्द्रीय दैवी प्रकोप उद्दार कोषबाट उक्त रकम वितरण गरिनेछ।

सशस्त्र प्रहरी र मानवीय सहायता कक्षसँग मौज्दात रहेका न्यानो कपडा पनि यो जाडोमा वितरण गरिने भएको छ । सचिव सापकोटाले ‘मौज्दात रहेका न्याना कपडाहरु ‘सशस्त्रको ट्रकबाट ढुवानी चलानी भैसकेको जानकारी दिएका छन् ।

Share Now

Leave a comment.