वाशिंटन डीसी (संयुक्त राज्य अमेरिका),३० असोज(बीबीसी) । अमेरिकामा रहेका चिनियाँ कूटनीतिज्ञले अमेरिकी अधिकारिहरूसँग कुनै पनि भेटवार्ता गर्नुअघि अमेरिकी सरकारलाई जानकारी गराउनुपर्ने भएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार शैक्षिक संस्था वा अनुसन्धान केन्द्रको भ्रमण गर्दा पनि चिनियाँ कूटनीतिज्ञहरूले अमेरिकी अधिकारीहरूलाई पहिला नै दरखास्त दिनुपर्नेछ।
चीनले अमेरिकाले अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन गरेको प्रतिक्रिया दिएको छ। तर अमेरिकाले चीनमा रहेकाआफ्ना कूटनीतिज्ञहरूले पनि त्यस्तै प्रकृतिको अवरोधहरूको सामना गर्नुपरिरहेको उल्लेख गरेको छ।
दुई देशबीचका तनाव बढ्दै जाँदा पछिल्ला कदम चालिएका हुन्।
अमेरिकाले भनेको के हो?
यो नियम अमेरिकी विदेश मन्त्रालयका आधिकारिक बैठकहरू, स्थानीय तथा नगर निकायका अधिकारीसँगका बैठक, शिक्षण संस्थाहरूको औपचारिक भ्रमण र अनुसन्धान संस्थाहरूको औपचारिक भ्रमणमा लागु हुने विदेश मन्त्रालयले जनाएको छ।
एक जना अधिकारीले चीनसँगको सम्बन्धलाई सन्तुलनमा ल्याउने प्रयास गरिएको र अमेरीकी कूटनीतिज्ञहरूमाथि चीनले गरेका नियमनहरूको प्रतिक्रियामा पछिल्लो निर्णय लिइएको बताए।
बिदेश मन्त्रालयका एक जना वरिष्ठ अधिकारीले भने, “चीनमा अमेरिकी कूटनीतिज्ञहरूलाई हामीले हाम्रो काम सम्पन्न गर्न आवश्यक बाधारहित खालको पहुँच उपलब्ध छैन। तर यहाँ अमेरिकामा रहेका चिनियाँ कूटनीतिज्ञहरूले हाम्रो खुला समाजबाट पुरा फाइदा लिइरहेका छन्।”
अमेरिकी अधिकारीहरूले चिनियाँ कूटनीतिज्ञले बैठकका लागि पूर्व स्वीकृति लिनुनपर्ने बताएका छन्। तर उनीहरूले भेटघाट अगावै जानकारी गराउनुपर्ने भन्ने उल्लेख गरेको छ।
आफ्नो कदमको अन्तिम लक्ष्य अहिले घोषणा गरिएका शर्तहरू र चीनमा रहेका अमेरिकी कूटनीतिज्ञमाथि लगाइएका शर्तहरू दुवैको खारेजी भएको उनको भनाइ छ।
चीनले कस्तो प्रतिक्रिया दियो?
बिहीवार जारी गरिएको विज्ञप्तिमा अमेरिका स्थित चिनियाँ दूतावासले नयाँ नियमहरूले भियाना महासन्धीको उल्लङ्घन गर्ने जनाएको छ।
“चिनियाँ पक्षले यस्तो किसिमको शर्त अमेरिकी कूटनीतिज्ञ वा कन्सुलर अधिकारीहरूमाथि चीनमा राखेको छैन,” उसले भनेको छ।
उसको भनाइ छ, “पारस्परिक सम्बन्धको कुरा गर्दै गर्दा, चीनमा रहेका अमेरिकी कूटनीतिज्ञको सङ्ख्या अमेरिकामा रहेका चिनियाँ कूटनीतिज्ञको सङ्ख्या भन्दा निक्कै धेरै छ।”
भीयना महासन्धीले कूटनीतिक सम्बन्ध सञ्चालनका नियमहरू उल्लेख गरेको छ।
The latest restrictions imposed by the US State Department on Chinese diplomats are in violation of the Vienna Convention.
So far, the Chinese side does not have similar requirements on American diplomats and consular officers in China.— Chinese Embassy in US (@ChineseEmbinUS) October 16, 2019
उक्त महासन्धी अनुसार कूटनीतिज्ञहरूलाई उनीहरू कार्यरत देशमा हिडँडुल र यात्रामा स्वतन्त्रता सुनिश्चित गरिनुपर्ने व्यवस्था छ।
उक्त महासन्धीले कुनै पनि आफ्ना देशमा कार्यरत कूटनीतिज्ञहरूलाई उनीहरूका देशका आधारमा विभेद गर्न नहुने उल्लेख गरेको छ।
अमेरिका र चीन हाल व्यापार युद्धमा छन् र पछिल्लो वर्षमा एक अर्काका देशका उत्पादनमाथि अर्बौँ मूल्य बराबरका करहरू लगाउने घोषणा गरेका छन्।
तर अमेरिकी विदेश मन्त्रालयले चीनसँगको व्यापार युद्धसँग अहिलेको कदम नजोडिएको प्रतिक्रिया दिएको छ।
राष्ट्रपति ट्रम्पले चीनले गलत व्यापार अभ्यासहरू गरिरहेको र बौद्धिक चोरीमा संलग्न रहेको आरोप लगाएको छ। चीनमा चाँहि अमेरिकाले बेइजिङको बढ्दो प्रभावलाई नियन्त्रण गर्न खोजिरहेको धारणा व्याप्त छ।


















