लण्डन(संयुक्त अधिराज्य),१६कार्तिक(बीबीसी) । ब्रिटेनको एसिक्समा एउटा लरीभित्र मृत फेला परेका सबै ३९ जना व्यक्ति भियतनामका नागरिक भएको प्रहरीले बताएको छ।
गत साता एउटा औद्योगिक क्षेत्रमा चिसो तापक्रम हुने व्यवस्था गरिएको लरीभित्र ती शवहरू फेला परेपछि मृतकहरू चिनियाँ भएको बताइएको थियो।
एसिक्स प्रहरीले अहिले आफूहरू केही मृतकका भियतनाम र यूकेस्थित परिवारजन तथा भियतनाम सरकारसँग सोझो सम्पर्कमा रहेको बताएको छ।
केही भियतनामी परिवारहरूले आफ्ना प्रियजन पनि त्यसरी मृत्यु हुनेमध्ये हुन सक्ने आशङ्का व्यक्त गरेका थिए।
त्यसरी शव भेटिनुभन्दा केही दिनअघि २६ वर्षीया एक महिलाले परिवारलाई सन्देश पठाउँदै आफ्नो “विदेशयात्रा असफल” भएको जनाउ दिएकी थिइन्।
परिचय खुल्न बाँकी
मृत्यु हुनेमा ३१ पुरुष र आठ महिला छन्। मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण भइरहेको छ।
प्रहरी अधिकारी टिम स्मिथका अनुसार अहिले प्रहरीलाई सबै मृतकहरू भियतनामी नागरिक हुन् भन्ने लागेको छ।
तर कुनै पनि मृतकको सनाखत गर्ने अवस्थामा प्रहरी नभएको उनले बताए।

अक्टोबर २३ मा एसिक्समा ३९ वटा शव फेला परेपछि संसारभरि त्यो घटनाको ठूलो चर्चा भयो
लन्डनस्थित भियतनामी दूतावासले घटनाबाट आफू धेरै दु:खी भएको भन्दै शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।
उसका अनुसार पीडितहरूको परिचय अझै खुल्न तथा दुई देशका सम्बन्धित निकायले त्यसको पुष्टि गर्न अझै बाँकी छ।
मृतकको शव स्वदेश फिर्ता गर्नका लागि परिवारजनलाई सघाउन आफूले सम्बन्धित निकायहरूसँग समन्वय गर्ने उसले बताएको छ।
एक भियतनामी पुरुषले आफ्नो ३० वर्षीय छोराको पनि मृत्यु भएको आफूलाई लागेको यसअघि बीबीसीलाई बताएका थिए।
भियतहोम नामक यूकेस्थित भियतनामी समुदायका मानिसहरूको फोरमले सम्पर्कविहीन भएका २० जना मानिसको तस्बिर प्रहरीलाई उपलब्ध गराइएको जनाइएको छ।
लरीको कन्टेनरभित्र रेफ्रिजेरेटरको जस्तो चिसो हुने हुनाले तापक्रम -२५ डिग्री सेल्सीअससम्म झर्न सक्छ।
प्रारम्भिक विवरणहरूमा त्यो लरी बल्गेरियाबाट आएको बताइएको थियो। तर त्यहाँको सरकारले जनाएअनुसार त्यो लरीको ट्र्याक्टर त्यहाँ सन् २०१७ मा दर्ता भएपनि त्यसपछि फर्किएको छैन।
‘अवैध आप्रवासन’
यसअघि भियतनाममा प्रहरीले नाम नखुलाइएका दुई व्यक्तिलाई “अवैध आप्रवासन”मा संलग्न भएको अभियोग लगाएको थियो।

तस्बिरमा देखिएका ले मिङ टनका छोराको पनि एसिक्सको घटनामा मृत्यु भएको आशङ्का छ
शवहरू फेला परेपछि नोर्दर्न आयरलन्डका लरीचालक मोरिस रोबिन्सनलाई पक्राउ गरिएको थियो। उनलाई सोमवार अदालतमा प्रस्तुत गरियो।
उनीविरुद्ध ३९ जनाको हत्या गरेको समेत विभिन्न अभियोगहरू लगाइएको छ।
डब्लिनमा पक्राउ परेका २२ वर्षीय अर्का व्यक्तिलाई ब्रिटेन ल्याएर मुद्दा चलाउन प्रक्रिया थालिएको बताइएको छ।
मानवतस्करी र हत्याको आशङ्कामा प्रहरीले नोर्दर्न आयरलन्डका दुई दाजुभाइ रोनन ह्यूज र क्रिस्टोफर ह्यूजलाई प्रहरीले खोजिरहेको छ।
सन् २००० को जुन महिनामा ५८ चिनियाँ आप्रवासीका शव ब्रिटेनको डोभरमा एउटा लरीको पछाडि फेला पारिएको थियो। त्यहाँ दुई जना जीवितै थिए।
हत्या गरेको अभियोगमा उक्त लरीका डच चालकलाई जेल सजाय भएको थियो।
संयुक्त राष्ट्रसङ्घले सन् २०१४ देखि ब्रिटेन आउने क्रममा ज्यान गुमाएका आप्रवासीबारेको अभिलेख राख्न सुरु गरेको हो।
त्यसपछिका वर्षहरूमा कन्टेनर वा लरीमा पाँच जना आप्रवासीका शव भेटिएको छ।
सन् २०१४ मा युरोपमा आप्रवासी सङ्कट सुरु हुनु अघिको तथ्याङ्क उपलब्ध छैन।
तर यस्ता मृत्युका घटना नयाँ होइनन्।


















