काठमाडौं,१८ कार्तिक । सातै प्रदेशका प्रमुखहरु राष्ट्रपति विद्यादेवी भण्डारीबाट बर्खास्त भएको एक दिन पछि सोमबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुगमा नयाँ नाम सिफारीस गरेको छ । प्रदेश प्रमुखमा सत्ताको अर्को घटक समाजवादी पार्टीलाई कुनै भाग छुट्टयाईएको छैन् ।
सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।
नेकपाको सचिवालयले अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको छ । कसलाई कुन प्रदेशमा नियुक्त गर्ने भन्ने विषय भने सरकारलाई निर्णय गर्ने स्वतन्त्रता दिइएको छ ।
नेकपाबाट सिफारीस हुनुभएका शेरचन संयुक्त जनमोर्चा हुँदै नेकपा माओवादीबाट नेकपामा आइपुग्नु भएको हो । पूर्वउपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको थियो ।
नेकपाको सिफारीसमा पर्नुभएका सोमनाथ अधिकारी प्यासी कास्कीका पूर्वसभासद हुनुहुन्छ ।पञ्चायतकालका समेत जनपक्षीय उम्मेदवार बनेर निर्वाचित हुनुभएका प्यासी पार्टी एकीकरण पूर्व नेकपा एमालेमा हुनुहुन्थ्यो ।
नेकपा माओवादीको पृष्ठभूमिबाट आउनुभएका बाँकेका तिलक परिवार पूर्वसभासद हुनुहुन्छ।
नेकपाको प्रेदेश प्रमुखमा सिफारिस हुनुभएका धर्मनाथ यादव सिराहाबासी हुनुहुन्छ । उहाँ नेकपा माओवादीको पृष्ठभूमिबाट आउनुभएको हो ।
नेकपाले प्रदेश प्रमुखमा सिफारीस गरेका गोविन्द कलौनी बैतडीका कलौनी ०४८ मा शेरबहादुर देउवासँग चुनाव लडेर पराजित हुनुभएको थियो । एमाले विभाजित भएपछि मालेमा पुग्नुभएका कलौनी पार्टी एकीकरण पछि एमालेमा सक्रिय हुनुहुन्थ्यो । एमाले र माओवादी एकीकृृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय हुनुभएका कलौनीलाई सुदूरको जिम्मेवारी दिइने निश्चित जस्तै छ ।
नेकपाले प्रदेश प्रमुखमा सिफारीस गरेका विष्णु प्रसाई मेचीनगर निवासी हुनुहुन्छ । उहाँ नेकपा एमालेबाट सो नगरपालिकाको मेयरको उम्मेदवार बन्नुभएको थियो ।
नेकपाले तत्कालीन माओवादीसम्बद्ध वेपत्ता परिवार समाजकी अध्यक्ष शर्मिला त्रिपाठीलाई पनि प्रदेश प्रमुखमा सिफारिस गरेको छ। उहाँका ज्ञानेन्द्र त्रिपाठीकी श्रीमति हुनुहुन्छ । माओवादी कार्यकर्ता त्रिपाठी सशस्त्र विद्रोहको क्रममा बेपत्ता हुनुभएको थियो ।
नेकपाले प्रदेश प्रमुखको नियुक्तिको सिफारीस गर्दा आफ्नै सत्तासाझेदारसंग सामान्य समन्वय र साझेदारीको राजनीतिक संस्कार पनि देखाएको छैन् । प्रदेश प्रमुख सिफारीसमा पार्टीभित्र दह्रो पकड राख्ने माधवकुमार नेपाललाई पनि निराश पारिएको छ । सिफारीस भएका कुनै पनि नाम उहाँ निकट मानिदैनन् ।
यसैले प्रदेश प्रमुख बर्खासी र नियुक्ति दुवैमा सर्वसत्तावाद हावी भएको दाबी पार्टी भित्र र बाहिर दुवैतिर गरिंदैछ । जीवनको उत्तरार्धतिर पुग्नुभएका प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रकै अर्का सहनशील नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई किन यति साह्रै पेल्नुभएको छ ? यो नेकपाका नेता र कार्यकर्ताहरुले नै नबुझ्ने पहेली बनेको छ ।


















