गौर(रौतहट), १९ कार्तिक । नेपाली कांग्रेसका सांसद मोहम्मद आफताव आलमको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्नुहुने भएको छ ।
सरकारी वकिल कार्यालय रौतहटले सोमबार आलमसहित १० जनालाई जन्मकैद माग गर्दै ३ वटा मुद्दा जिल्ला अदालतमा दर्ता गरेपछि थापासहितका वकिलले आलमको पक्षमा बहस गर्न वकालतनामा दर्ता गराउनुभएको छ।
रौतहट प्रहरीले १० जनामाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दा दर्ता गरेको हो। आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ। सोमबार समय अभावका कारण थुनछेक बहस हुन सकेन । आजबाट थुनछेक बहस हुने बताइएको छ।
१२ वर्षअघि रौतहटमा भएको भनिएको बम विष्फोटमा संलग्न भएको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । तर कांग्रेस नेता आलमले सो विष्फोट नै नभएको बताउदै आउनुभएको छ ।


















