काठमाडौं, १८ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ।
आजै बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुको नियुक्तिको लागि राष्ट्रपति समक्ष सात व्यक्तिको नाम सिफारीस गरेको थियो । राष्ट्रपति भण्डारीले सरकारले सिफारीस गरेका व्यक्तिहरुलाई नै नेपालको संविधान अनुसार प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।
आज बिहान बसेको नेपाल कम्युनिष्ट पार्टीको बैठकले सात प्रदेश प्रमुखमा नियुक्तिको लागि सरकारसमक्ष सात नाम सिफारिस गरेको थियो ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ति सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारीस गरेपछि राष्ट्रपतिले साँझ सातै प्रदेशका साविक प्रमुखहरुलाई पदमुक्त गर्नुभएको थियो ।

नेपालको संविधानको धारा १६३ को २ बमोजिम राष्ट्रपति भण्डारीले सोमबार साँझ कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’लाई प्रदेश १, बाँकेका तिलक परियारलाई प्रदेश २ , झापाका विष्णु प्रसाईंलाई प्रदेश ३ र चितवनका अमिक शेरचनलाई गण्डकी, सिराहका धर्मनाथ यादवलाई प्रदेश ५, बैतडीका गोविन्द कलौनीलाई कर्णाली प्रदेश र काठमाडौंकी सर्मीलाकुमारी पन्तलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।
नवनियुक्त प्रदेश प्रमुखहरुलाई राष्ट्रपति भण्डारीले मंगलबार सपथ गराउने कार्यक्रम रहेको छ ।


















