काठमाडौं, १८ कार्तिक । बलात्कार अभियोग अदालतसामु पेश गरिनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले डिल्लीबाजार कारागारमा राख्न अनुमति दिएको छ ।
सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश गरेको हो।
तत्काल प्राप्त प्रमाण हेर्दा महरालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएकोले अदालतले आदेश दिएको बताइएको छ ।
यस पहिले जबरजस्ती करणी प्रयासमा जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरी प्रतिवेदन बुझाएपश्चात् सरकारी वकिल कार्यालयले महरालाई जबरजस्ती करणी अभियोगमा बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो।
महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्नेबारे जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि बहस सुरू भएको थियो।
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आज काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेल र हरि रेग्मी तथा सहजिल्ला न्यायाधिवक्ता सृजना ढकालले पीडितको पक्षबाट बहस गरेका थिए।
महराका पक्षबाट भने वरिष्ठ अधिवक्ता लव मैनाली, पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठलगायतले बहस गरेको थिए।
महराको बयान गत शुक्रबार सकिएको थियो। बयानमा उहाँले पीडितको घर नजिकै पुगेको तर पीडितलाई भने नभेटेको बताएउनुभएको थियो।
असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको रोशनीले प्रहरीमा जाहेरी दिनुभएको थियो ।
प्रहरीेले पीडित रोशनी शाहीले पत्रकार अजयबाबु सिवाकोटीलाई भिडिओमा भनेको रेकर्ड, महरा हतारहतार निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र चस्माको भाँचिएको खुट्टा दसी प्रमाणको रुपमा पेश गरेको थियो ।
प्रहरीले सांसद उमा रेग्मीको कागज पनि ल्याएको छ, जसमा रोशनीले सभामुख महराले गरेको कर्तुतको बारेमा सांसद रेग्मीलाई जानकारी दिएको उल्लेख छ ।त्यस्तै, पत्रकार अजयबाबु सिवाकोटीले प्रहरीसमक्ष गरेको कागज महराविरूद्धको अकाट्य प्रमाणको रुपमा रहेको छ । जसमा भिडिओ अन्तरवार्ता, उक्त भिडिओ लिँदालिँदै महराको नम्बरबाट आएको कल,रोशनीले फर्काएको जवाफ आदि समाविष्ट छ । प्राप्त तथ्य र प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले महराविरूद्ध जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएको हो।पीडितलाई रक्सी खुवाएर अनुचित प्रभावमा पारेर महराले जबरजस्ती करणी गर्ने प्रयास गरेको सरकारी वकिलको जिरह छ।
तात्कालीन सभामुख महरा असोज १२ गते बा २० च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा पुगेको सिसिटिभी फुटेजमा देखिएको छ भने आफूकहाँ आएर महराले जबरजस्ती करणी प्रयास गरेको व्यहोरा पीडित रोशनी शाहीको जाहेरीमा उल्लेख छ।
यो घटना सार्वजनिक भएको तेस्रो दिनमा महराले सभामुखबाट राजीनामा दिनुभएको थियो।


















