Prakash Adhikari November 17, 2019

कोलम्बो(श्रीलंका),१ मंसिर(बीबीसी)। श्रीलङ्कामा गृहयुद्ध हुँदा रक्षासचिव रहेका गोताबय राजपक्ष श्रीलङ्काको नयाँ राष्ट्रपति निर्वाचित भएका छन्।

निर्वाचनमा राजपक्षको पक्षमा ५२.२५ प्रतिशत मत खसेको थियो। उनका प्रमुख प्रतिद्वन्द्वी सजित प्रेमदासले पराजय स्वीकार गरेका छन्।

विश्लेषकहरूका अनुसार राजपक्षले सिन्हालाबहुल क्षेत्रमा अत्यधिक मत ल्याइएका छन् भने सजिथ प्रेमदासले तामिलहरूको बाहुल्य भए दक्षिणी भेटमा राम्रो मत ल्याएका थिए।

भर्खरै सम्पन्न निर्वाचनका बेला देश स्पष्ट रूपमा साम्प्रदायिकताका आधारमा विभाजित भएको देखिएको थियो।

गत एप्रिलमा २५० भन्दा बढी व्यक्तिको ज्यान जानेगरी भएको आतङ्कवादी आक्रमणपछि श्रीलङ्कामा पहिलो पटक निर्वाचन भएको हो। इस्लामिक स्टेट समूहसँग सम्बन्ध भएका लडाकुहरूले ती आक्रमणहरू गरेका थिए।

राष्ट्रपति पदका लागि ३५ जनाले प्रतिस्पर्धा गरेका थिए।

सन् २००९ मा समाप्त भएको दशकौँ लामो गृहयुद्धपछि यसअघि दुईचोटि राष्ट्रपतीय निर्वाचन भइसकेको थियो।

मतगणना गरिँदा राजपक्ष सुरुदेखि अग्र स्थानमा देखिएका थिए।

श्रीलङ्का
निर्वाचनमा ३५ उम्मेदवार सहभागी भएका भए पनि गोताबय राजपक्ष र सजित प्रेमदासबीच मुख्य प्रतिस्पर्धा भएको थियो
पदासीन राष्ट्रपति मैत्रीपाल सिरिसेनाले निर्वाचनमा प्रतिस्पर्धा गरेनन्।

इस्टर पर्वका बेला भएको आतङ्कवादी आक्रमणका कारण चर्को आलोचना भएपछि उनी निर्वाचनमा सहभागी नभएका हुन्।

इसाईहरूको पर्वका बेला गिर्जाघर र ठूला होटेलहरूमा आत्मघाती बम आक्रमणहरू भएपछि सरकारले आफ्नो गुप्तचर संयन्त्र असफल स्वीकारेको थियो।

आक्रमणपछि श्रीलङ्काको अर्थतन्त्र खस्कँदै गएको छ। विशेषत” पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको बताइएको छ।

पूर्वराष्ट्रपति महिन्दा राजपक्ष र गोताबय राजपक्ष दाजुभाइ हुन्।

उनीहरूलाई देशको गृहयुद्ध समाप्त गर्न विशेष भूमिका निर्वाह गरेको श्रेय दिइन्छ।

निर्वाचनको परिणाम औपचारिक घोषणा हुनुअघि नै राजपक्षले निर्वाचन जित्ने निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका थिए।

यो निर्वाचनमा राष्ट्रिय सुरक्षाको विषयले विशेष महत्त्व राखेको थियो।

अत्पसङ्ख्यक समुदायको अधिकार र रोजगारीको विषय चर्चा पाएका थिए।

राजपक्षले चीनसँगको सम्बन्ध सुधार्ने बताएका थिए भने प्रेमदासले अमेरिका र भारतसँग घनिष्ठता राख्न खोजेको बताइएको थियो।

Share Now

Leave a comment.