Prakash Adhikari November 18, 2019

काठमाडौं, २ मंसिर । ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन सोमबार हुँदैछ।

प्रधामन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयको एक्सन रुम तथा ऊर्जामन्त्री वर्षमान पुनले नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेस्थित आयोजनास्थलबाटै विद्युत् आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ।

गएको चैतदेखि नियमित विद्युत् उत्पादन सुरु भएपनि आयोजनाको औपचारिकरूपमा उद्घाटन ढिलोगरी हुन लागेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो प्रयास र मेहनतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको जानकारी दिनुभएको छ ।

आयोजनाबाट हिउँदको बेला ४५ मेगावाट र अरुबेला ६० मेगावाट विद्युत् उत्पादन हुनेछ। आयोजना विद्युत् प्राधिकरण आफैँले निर्माण गरेको हो।

पूर्णरूपमा सञ्चालनमा आउँदा माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशत योगदान रहने घिसिङले बताउनुभयो।

१२ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण भएको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो।

प्राधिकरणका अनुसार यो आयोजना करिब नौ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछ। यस्तै हिउँदका तीन महिना आयोजनाले ४५ मेगावाट विद्युत् उत्पादन गर्नेछ।

आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक करिब पाँच अर्ब रुपैयाँ आम्दानी गर्ने बताइएको छ।

आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले गएको जेठ २ गते नै आयोजनाको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको घोषणा गरेका गर्नुभएको थियो।

यो आयोजना यतिकै समयमा झण्डै यतिकै लागतमा ९० मेगावाटमा बनाउने विकल्पमा काम गर्दा नेपाल विद्युत प्राधिकरणका घुस्याहा कर्मचारीको विरोघले यसको ३० मेगावाट क्षमताको हत्या भएको छ । भूकम्पको कारण यो आयोजना निर्माणमा बिलम्ब भएको हो ।

Share Now

Leave a comment.