काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको छ । अप्रेसनपछि अस्पतालले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ।
स्वास्थ्य अवस्था सामान्य नरहेर स्थिर रहेको उल्लेख गरिनुलाई कतिपयले प्रधानमन्त्रीको जीर्ण शरीर र नियमित डायलासिसका कारण स्वास्थ्य अवस्था गम्भीर रहेको भन्ने अर्थ समेत लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलवार बिहान पेट दुखेपछि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो।
अस्पतालले जारी गरेको विज्ञप्तिमा उहाँलाई एपेन्डिसाइटिस र पेटको संक्रमण भएको बताइएको छ । उहाँलाई लेपारोटोमी र एपेण्डेक्टोमी विधिबाट उपचार गरिएको अस्पतालले जनाएको छ ।
अपरेशनपश्चात प्रतिक्षा कक्षबाट बाहिरिनुभएकी प्रधानमन्त्री ओलीकी धर्मपत्नीले उहाँको अपरेसन सफल भएको बताउनुभएको थियो ।
यसअघि उनले प्रधानमन्त्रीले पेट दुखेको भनेपछि मंगलबार बिहान ९ बजे नै अस्पताल पुर्याइएको थियो ।
झन्डै १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रम ओली अहिले फेरि मिर्गौलाको समस्याबाट पीडित हुनुहुन्छ ।
अस्तिमात्र उहाँको मृगौलाको चौथो पटक डायालिसिस गरिएको थियो।
एपेन्डिसाइटिसको समस्या त्यति जटिल नभए पनि ओलीको स्वास्थ्यमा विद्यमान अन्य समस्याका कारण अस्पताल भर्ना भएपछि चिकित्सकहरूले उहाँको स्वास्थ्य परीक्षण गरेका थिए।
स्वास्थ्यमा समस्या भएपनि प्रधानमन्त्री ओलीलाई सार्वजनिक कार्यक्रममा सहभागी बनाएर उहाँ राज्य सञ्चालन गर्न समर्थ रहनुभएको सन्देश सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रधानमन्त्रीको सहयोगी समूहले दिन खोजेको छ ।
त्यसै अनुरुप उहाँलाई आइतबार र सोमबार मन्त्री तथा सचिवलाई निर्देशन दिने कार्यक्रममा उपस्थित गराइएको थियो । मङ्गलवार अपराह्न प्रधानमन्त्री ओलीले दक्षिण एशियाली खेलकुद सागमा भाग लिने नेपाली खेलाडीहरूलाई भेट्ने कार्यक्रम रहेको थियो।
मानिसको आमाशयमा आन्द्रानजिकै हुने अपेन्डिक्स भनिने तन्तुको सुजनलाई अपेन्डिसाइटिस भनिन्छ।
अपेन्डिसाइटिस हुँदा ब्याक्टेरियाको सङ्क्रमण तथा आन्द्रामा अवरोध पुग्दा बिरामी व्यक्तिलाई पेट दुख्ने र गम्भीर समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्।
अपन्डिसाइटिस हुँदा समयमै शल्यक्रियामार्फत् अपेन्डिक्स निकालेर उपचार गरिन्छ।


















