Prakash Adhikari December 11, 2019

काठमाडौं,२५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीहरुलाई सरकारले स्वर्णमा ९ लाख, रजतमा ६ लाख र कास्यमा ३ लाख रुपैया दिने घोषणा गरेको छ ।

१३ औं सागमा पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच सो नगद पुरस्कार दिने घोषणा गर्नुभएको हो ।

सरकारले स्वर्ण विजेता खेलाडीलाई ९ लाख रुपैयाँ दिनेछ । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिइनेछ ।

१३औं सागमा पौडीकी गौरिका सिंहले चार स्वर्ण जितेकी छन् भने कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले दुई स्वर्ण जितेका छन् ।

यस्तै टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिइने प्रधानमन्त्रीले बताए । टिम इभेन्टतर्फ नेपालले पुरुष फुटबल, तेक्वान्दोको पुम्से र कराँतेको काता र गल्फ टिममा नेपालले स्वर्ण पदक जितेको छ ।

स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकहरुले पनि जनही ५ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै सागमा रजत जित्नेले ६ लाख र कांस्य जित्नेलाई ३ लाख पाउने भएका छन् ।

तर टिम इभेन्टमा रजत र कांस्य जित्ने खेलाडीहरुले कति पाउँछन् भन्ने कुरा बुधबारको घोषणामा स्पष्ट भएको छैन ।

नेपालले महिला भलिबल, कबड्डीलगायतका टिम इभेन्टमा रजत र कांस्य जितेको छ ।

साथै पदक जित्ने टिमका म्यानेजर र अन्य सहयोगीले पाउने रकम पनि खुलाइएको छैन ।

पुरस्कारसम्बन्धी कार्यविधि मन्त्रिपरिषदले पारित गरेपछि यसबारे प्रष्ट हुने बताइएको छ ।

काठमाडौंमा मंगलबार सकिएको सागमा नेपाली खेलाडीले देशका लागि ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेका थिए ।

विगतमा स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिंइदै आएको थियो ।

प्रधानमन्त्रीले पुरस्कार घोषणा गर्दा हलमा सहभागीहरुले तालीको गडगडाहटले स्वागत गरेका थिए ।

Share Now

Leave a comment.